प्यूठान, २१ कात्तिक । आयुर्वेद स्वास्थ्य केन्द्र प्यूठानको वार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रवार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्यूठानको आयोजनामा जिल्ला समन्वय समितिमा गत आर्थिक वर्ष २०७६/०७७ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गत आर्थिक वर्षमा भिगृ आयुर्वेद औषधालय भिंगृ, स्वर्गद्वारी आयुर्वेद औषधालय स्वर्गद्वारीखाल, लुङ आयुर्वेद औषधालय लुङगाउँ र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्यूठानले गरेका कार्यहरुको बारेमा समिक्षा गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्यूठानले जनाएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्यूठानले गत आर्थिक वर्षको कुल बजेट ९१ लाख ४२ हजार आएकोमा ८१ लाख २१ हजार १ सय आठ रुपैया खर्च भएको कार्यालयका बरिष्ठ कबिराज निरीक्षक शिसिर पोख्रेलले जानकारी दिनुभयो । यस आर्थिक वर्षका लागी ६८ लाख ५५ हजार बजेट प्राप्त भएको छ उहाँले भन्नुभयो, “जिल्लाका ऐरावति गाउँपालिका, माण्डबी गाउँपालिका र झिमरुक गाउँपालिकामा मंसिरदेखी लागु हुने गरी नागरिक आरोग्य सेवा केन्द्र स्थापना हुन लागेको छ ।”
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख केशबराज आचार्यले स्थानीय तहसंग साझेदारी गरेर काम गर्न जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई आग्रह गर्नूभयो । उहाँले भन्नुभयो, “मेहनत गरी समाजमा आयुर्वेद औषधीबारे राम्ररी बुझाउन जरुरी छ ।”
कोरोना भाइरसमा बेला कार्यालयबाट निशुल्क रुपमा क्वारेन्टाइनमा गई योगा तथा औषधी बितरण गर्ने काम भएको कार्यालय प्रमुख डाक्टर रमेश कुमार केसीले बताउनुभयो । सबै स्थानीय तहसंग समन्वय गरेर अगाडी बढ्ने योजना रहेको उहाँको भनाई छ ।
कार्यक्रम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्यूठानका प्रमुख डाक्टर रमेश कुमार केसीको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आचार्यको प्रमुख आतिथ्यतता तथा जिल्लाका विभिन्न पालिकाका प्रमुख, उपप्रमुख तथा प्रतिनिधि लगायतको उपस्थितिमा सम्पन्न भएको हो ।
