> स्थानीय सरकार > फलोअप न्यूजः दुर्घटनामा घाईते बालिकालाई एअर म्याट्रिस बेडको व्यवस्थाः दशै लगत्तै उपचारका लागि अस्पताल लगिने


फलोअप न्यूजः दुर्घटनामा घाईते बालिकालाई एअर म्याट्रिस बेडको व्यवस्थाः दशै लगत्तै उपचारका लागि अस्पताल लगिने

प्यूठान, ९ कात्तिक । दुर्घटनामा परेर घाईते भएकी १३ वर्षीय कृष्णा घर्तिलाई एअर म्याट्रिस बेडको व्यवस्था गरिएको छ । माण्डवी गाउँपालिका प्यूठानका अध्यक्ष श्रीधर रोकाको पहलमा शनिबार उपचार अभावमा घरमा रहेकी बालिकालाई एअर म्याट्रिस बेडको व्यवस्था गरिएको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धुर्व कुमार पोख्रेल बालिकाको घरमै पुगेर बेडको व्यवस्थापन गर्नुभएको हो । ‘अध्यक्ष ज्यूको पहलमा बेडको व्यवस्था गरिएको हो,’पोख्रेलले भन्नुभयो,‘बेडको व्यवस्थापनपछि बालिकालाई धेरै सहज भएको छ ।’

माण्डवी गाउँपालिका–२ मर्कावाङ ढिकावनकी बालिका असार ५ गते जंगलमा आमासँग घाँस काट्न गएको बेला रुखबाट लडेर घाईते हुनुभएको हो । दुर्घटनापछि उपचारका लागि भैरहवा पु¥याएपनि आर्थिक अभावले परिवारले बालिकालाई घरमा ल्याएर राखेका छन् । घरमा बच्चा सुतिरहँदा बालिकाको शरिरमा थप घाउ भएको छ ।

स्वास्थ्य प्रमुख पोख्रेलले बालिकाको घाउ सफा गरेर औषधी समेत लगाइदिएको बताउनुभयो । ‘कसरी घाउ सफा गर्ने भनेर मैले बालिकाको आमालाई सिकाइदिएको छु,’ उहाँले भन्नुभयो,« ‘ड्रेसिङको समान समेत परिवारलाई दिएको छु ।’ नियमित रुपमा घाउँ सफा नगर्दा शरिरमा घाउ बढ्दै गएको समेत उहाँले बताउनुभयो ।
दुर्घटना कसरी भयो ?
गएको असार ५ गते सिमसिम पानी परिरहेको थियो । कोरोनाका कारण विद्यालय बन्द थियो । ६ कक्षामा अध्ययनरत कृष्णा फुर्सदको समयमा घरमा खेल्ने र परिवारको काममा सघाउने गर्नुहुन्थ्यो । त्यस दिन पनि विहान ८ बजेतिर आमा बालिका घर्तिमगरसँगै कृष्णा घाँसदाउराका लागि नजिकैको जंगलमा जानुभयो ।

जंगलमा घाँस दाउरा गर्ने क्रममा आमा छोरी छुटिए । पछि आमाले कृष्णालाई खोजिन तर भेटाइनन । उनले पछिमात्र छोरी दुर्घटनामा परेको देखिन । कृष्णालाई डोली बनाएर घरमा ल्याइयो । उपचारका लागि जिल्ला अस्पताल लगियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि भैरहवा रिफर भयो ।

त्यतिवेला करिव ४० हजार जति जुटाएर उपचारका लागि गएका परिवारले १५ दिनसम्म उपचारका लागि कृष्णालाई अस्पतालमा राखे । त्यतिन्जेल करिव ५ लाख रुपियाँ सकियो । डाक्टरले बच्चाको मेरुदण्ड सहित शरिरको सवै हड्डी भाँचिएको बताए । अझै बच्चालाई अस्पतालमै राख्नुपर्ने र थप उपचार आवश्यक पर्ने सल्लाह अस्पतालका डाक्टरले दिए ।

तर परिवारले १५ दिनमा ५ लाख खर्च पुगिसकेको भन्दै थप उपचार गराउन आर्थिकले नभ्याउने भन्दै कृष्णालाई घरमा ल्याउने निर्णय गरे । १७ दिनको दिन बच्चालाई घरमा ल्याइयो । घरमा सुताएर राखिराख्दा शरिरका विभिन्न ठाउँमा घाउ भएर थप संक्रमणको जोखिम समेत अहिले बढेको छ । गाउँका स्थानीयले चन्दा सहयोग गरेका थिए । बैंकबाट ३ लाख ऋण लिएका छन् । आफन्तबाट पनि सहयोग र ऋण लिएका छन् ।

बालिका घर्तिको श्रीमान भारतमा रोजगारीका लागि आउने जाने गर्नुहुन्थ्यो । तर अहिले कोरोनाकै कारण उहाँ घरमै हुनुहुन्छ । आयआर्जनको बाटो बन्द छ । घरमा दुई जना सासु ससुरा दुवै विरामी हुनुहुन्छ । कृष्णा मुनिका दुई छोरा छन् । दैनिक गुजारा चलाउनै गाह्रो छ । (बच्चाको आमा बालिका घर्तिमगरसँगको कुराकानीमा आधारित)

दशै लगत्तै उपचारका लागि लगिने
कृष्णाको उपचारका लागि अहिले सहयोग जुट्न थालिसकेको छ । गाउँपालिका अध्यक्ष श्रीधर रोकाले उपचारका लागि सहयोग अभियान चलाउनुभएको छ । देश तथा विदेशबाट सहयोग गर्ने दाताहरुले सहयोग गर्ने बचन दिइरहेका छन् ।

दशै लगत्तै बच्चालाई उपचारका लागि लैजाने तयारी भएको अध्यक्ष रोकाले बताउनुभयो । जतिसक्यो छिटो उपचारका लागि लैजाने गरि समन्वय भइरहेको उहाँले बताउनुभयो ।

बालिकाको अवस्थाको बारेमा स्थानीय जनप्रतिनिधि (वडा सदस्य) शारदा पौडेलले नियमित रुपमा समन्वय र सहकार्य गरिरहनुभएको छ । बालिकाको अवस्थाको बारेमा समेत गाउँपालिका अध्यक्षलाई उहाँले जानकारी गराउनुभएको थियाे । गाउँपालिका अध्यक्षलाई जानकारी गराएपछि उपचार हुने आशा पलाएको उहाँले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *