> राष्ट्रिय > जीप दुर्घटना अपेड : एकै परिवारका तीन जनाको मृत्यु


जीप दुर्घटना अपेड : एकै परिवारका तीन जनाको मृत्यु

प्यूठान । दुलही लिएर फर्किएको जीप दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गौमुखी गाउँपालिका-६ लिवाङ निवासी ३९ वर्षीय बसन्त खड्का (श्रीमान), ३९ वर्षीया बसन्ती खड्का (श्रीमती) र ११ वर्षीया एलिसा खड्का(छोरी)को मृत्यु भएको छ ।

त्यसैगरी २९ वर्षीया केसरी खड्का, ५० वर्षीय बल बहादुर बुढामगर, ३२ वर्षीय खिम बहादुर खत्री, ५२ वर्षीया नन्दी खड्काको पहिचान भएको छ । एक जना महिलाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक देवी प्रसाद गैरेले जानकारी दिनुभयो ।

दुर्घटनामा बेहुला बेहुली सहित ५ जना घाईते भएका छन् । नौबहिनी गाउँपालिका-६ किमीचौर निवासी २० वर्षीया रिमा जिसी (बेहुली), सोही ठाउँका २५ वर्षीया सावित्रा जिसी, २५ वर्षीया दान बहादुर खड्का(बेहुला), १७ वर्षीय नरेश खड्का र २१ वर्षीय हरि बुढामगर घाईते हुनुभएको छ । बेहुला बाहेक अरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ग १ ज ५०९२ नम्वरको जीप लिवाङको ओखरपाटा भन्ने स्थानमा दुर्घटना भएको स्थानीय पदम बहादुर केसीले जानकारी दिनुभयो । नौबहिनी गाउँपालिका-६ लुङ किमिचौर बाट दुलही लिएर फर्किएको जीप आज राती ३ बजेको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *