प्यूठान, ५ कात्तिक । नगर क्षेत्रको पोषण अवस्थालाई सुधार गर्ने उद्येश्यले एक दिने पोषण समिक्षा तथा कार्ययोजना गोष्ठि गरिएको छ । प्यूठान नगरपालिका स्थीत विभिन्न स्वास्थ्य संस्थाहरुको सहभागीतामा कार्यक्रम गरिएको हो ।
नगर क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुको पोषण प्रगति विश्लेषण,पोषण कार्यक्रमका समस्याको पहिचान तथा निवारणका उपायहरुको वारेमा कार्यक्रममा छलफल भएको प्यूठान नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्दराज घिमिरेले बताउनुभयो । “समिक्षा संगै पोषण अवस्था सुधारका लागि प्रत्येक स्वास्थ्य संस्थाहरुको छुट्टा छुट्टै कार्ययोजना समेत निर्माण गरिएको छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा आर्थिक वर्ष ०७७/०७८ अन्तरगत प्रथम चौमासिकमा स्वास्थ्य संस्थाहरुद्धारा प्रदान गरिएको पोषण सेवा तथा त्यसको अभिलेखिकरण लगाएतका विषयमा छलफल गरिएको थियो । समिक्षामा स्वास्थ्य संस्थावाट प्रदान गरिने पोषण सेवा, हालसम्मको प्रगति समिक्षा तथा व्यवस्थीत अभिलेखिकरणका सन्दर्भमा छलफल भएको शाखा प्रमुख घिमिरेले बताउनु भयो ।
कार्यक्रममा प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतिले नगरपालिकाको समृद्धनगर निर्माणगर्ने योजनामा स्वास्थ्य तथा पोषण कार्यक्रमको समेत महत्व रहने हुँदा व्यवस्थीत तरिकावाट कार्यसम्पादन गर्न स्वास्थ्य कर्मीलाई सुझाउनु भयो । यसै वर्षदेख नगरपालिकामा बहुक्षेत्रिय पोषण योजना कार्यक्रम समेत लागु हुने भएकोले पोषण सुधारमा सहयोग पुग्ने उहाँले बताउनु भयो । यसै वर्षदेखि नगरपालिकाले सुत्केरी कोशेली कार्यक्रमको समेत सुरुवात गरेको बताउँदै उहाँले स्वास्थ्य तथा पोषण सेवालाई नगरपालिकाले प्राथमिकता दिदै आएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत पोष्करराज शर्मा तथा स्वास्थ्य कार्यालय प्यूठानका पोषण सम्वद्धव्यक्ति मधुसुदन खड्काले प्रभावकारी सेवा संगै व्यवस्थीत अभिलेखिकरणलाई महत्वमा राखेर काम गर्नु पर्ने बताउनुभयो । प्यूठान नगरपालिकाको आयोजना, स्वास्थ्य कार्यालय प्यूठानको समन्वय तथा सुआहारा दोस्रो चरण कार्यक्रमको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख घिमिरे, सुआहारा कार्यक्रमका स्वास्थ्य तथा पोषण अधिकृत बीर बोहोरा र स्वास्थ्य कार्यालयका पोषण सम्वद्ध व्यक्ति खड्काले सहजीकरण गर्नु भएको थियो ।
यस्तै कार्यक्रमले पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गर्न सापडाडा स्वास्थय चौकीलाई छनौट गरेको छ । नगर प्रमुख कक्षपतिको अध्यक्षता तथा स्वास्थ्य शाखाका दधिराम सुवेदीले कार्यक्रमको संचालन गर्नु भएको थियो ।
