प्यूठान, २० असोज । प्यूठान नगरपालिकाले ‘सुत्केरीसँग नगरपालिका’ कार्यक्रम सञ्चालन गरेको छ ।
प्यूठान नगरपालिका वडा नं ३ स्थित सापडाँडा स्वास्थ्यचौकीबाट आज कार्यक्रमको शुभारम्भ गरिएको हो । नगरपालिका भित्र रहेका र संस्थागत सुत्केरी भएका महिला र नवजात शिसुको स्वास्थ्यमा सुधार ल्याउने उदेश्यले कार्यक्रमको शुरुवात गरिएको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो ।
मातृ तथा शिसु मृत्युदर घटाउने, कुपोषणको अवस्थामा सुधार ल्याउनका लागि कार्यक्रम मार्फत पोषणयुक्त खानेकुरा र सरसफाई सामाग्री उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।
सुत्केरी महिलाले १२ प्रकारका सामाग्री(नुहाउने, लुगाधुने साबन, टुथ पेष्ट, ब्रस, सेनेटरी प्याड, हर्लिक्स, अण्डा, काईयो, नङकट, दशमुलारिष्ट) सहितको झोला दिने कार्यक्रम तय गरिएको छ ।चालु आर्थिक वर्षको श्रावणदेखि कार्यक्रम कार्यान्वयन गर्न खोजिएपनि सामाग्री खरिद लगायतका कारणले ढिला भएको बताउनुभयो ।
कार्यक्रमका लागि नगरपालिकाले नौ लाख रुपियाँ विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । कार्यक्रम मार्फत प्रति सुत्केरी महिलाले भ्याट बाहेक एक हजार दुई सय ५३ रुपियाँ बराबरको सामाग्री दिईने समेत उहाँले बताउनुभयो । नगरपालिकाले शुभारम्भ कार्यक्रममा सुत्केरीहरुलाई जम्मा गरी पोषण सामाग्री वितरण गरेपनि अबका दिन संस्थामा सुत्केरी भएर घर जाने क्रममा सामाग्रीहरु हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।
नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिँदै आएको उहाँले बताउनुभयो । यसलाई दिगो रुपमा अगाडी बढाउँदै लैजाने नगरपालिकाले योजना बनाएको नगरप्रमुख कक्षपतिले जानकारी दिनुभयो ।