प्यूठान, ९ असोज । प्यूठान नगरपालिका वडा नं.९ का वडा सदस्य निम बहादुर घर्तिले २२ रोपनी क्षेत्रफलमा स्याउ खेती गर्नुभएको छ । ०६७ सालमा जिल्ला कृषि विकास कार्यालयको सहजीकरणमा व्यवसायीक खेती थाल्नुभएको हो ।
खेर गएको २२ रोपनी जग्गामा मलजल गरि घर्तिले २५० वेर्ना स्याउका बोट लगाउनुभएको हो । जसमध्ये २ सय बोट हुर्किएको उहाँले बताउनुभयो । घर्तिले प्रति वेर्ना १३५ मा खरिद गरेर लगाउनुभएको हो । त्यतिवेला वेर्ना ढुवानीका लागि कृषि कार्यालयले सहयोग गरेको थियो । बाँकी लगानी स्वयं घर्तिले गर्नुभएको हो ।
राेग किराकाे समस्या
तर अहिले स्याउ खेतीमा रोगकिराका लागेर समस्या भएको छ । घर्तिको स्याउ बगैचामा पछिल्लो समय उत्पादन हुने समयमा रोगकिराले क्षति गर्दै आएको छ ।
‘वेर्ना लगाएको चार वर्षदेखि स्याउ फल्न थालेको हो,’ उहाँले भन्नुभयो, ‘शुरुका दुई वर्ष स्याउ राम्रै फल्यो ।’ जसबाट उहाँले करिव ७ लाख रुपियाँ आम्दानी गर्नुभयो । तर त्यसपछि उत्पादन राम्रो हुन सकेको छैन ।
असिनापानीले गर्दा फुल फुल्ने समय र फल लाग्ने समयमा क्षति पुगेको उहाँको भनाई छ । त्यसपछि स्याउको रुखको पातमा पनि किरा लागेर उत्पादन नभएको उहाँको गुनासो छ । अहिले स्याउका बोटमा औषधी छर्ने काम गरेको उहाँले जानकारी दिनुभयो ।
‘जिल्लामा कृषि प्राविधिक त हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘तर स्याउको विषयमा विज्ञ पाइदैन ।’ कहिलेकाँही स्याउ विज्ञलाई फोन गरेर समस्याको समाधान खोज्ने गरेको उहाँले बताउनुभयो । यस वर्ष कृषि ज्ञान केन्द्रमा स्याउमा लागेको रोगबारे जानकारी गराएको बताउनुभयो ।
जिल्लामा व्यावसायिक रुपमा स्याउ खेति गर्नुभएका घर्तिको बगैचा हेर्न जिल्लाका विभिन्न ठाउँबाट किसान पुग्ने गर्दछन् । गाउँमा एक जनाको घरमा स्याउ फलेको देखेपछि घर्तिले स्याउ खेतिको शुरुवात गर्नुभएको हो ।
सुन्तला खेती पनि सँगसँगै
कृषि पेशामा सक्रिय घर्तिले स्याउखेती सँगै पछिल्लो समय सुन्तला खेतीमा समेत लगानी गर्नुभएको छ । अघिल्लो वर्ष २६० बोट सुन्तला लगाउनुभएका घर्तिले यस वर्ष थप ४२५ बोट सुन्तलाको विरुवा लगाउनुभएको छ । उहाँले भन्नुभयो, ‘अझै पाँच सय बोट सुन्तला थप्ने योजनामा छु, सुन्तलाका लागि समेत यहाँको हावापानी राम्रो छ ।’