> आर्थिक/बिकास > प्यूठानमा ड्रागन फ्रुटको खेतीः उत्पादन शुरु हुन थाल्यो


प्यूठानमा ड्रागन फ्रुटको खेतीः उत्पादन शुरु हुन थाल्यो

प्यूठान, ६ असोज । सरुमारानी गाउँपालिका वडा नं. २ दर्भानमा व्यवसायिक रुपमा खेती थालिएको ड्रागन फ्रुटले उत्पादन दिन शुरु गरेको छ । २०७६ साल असारमा लगाएको ड्रागन फ्रुटको उत्पादन शुरु भएको हो ।

प्यूठान दर्भानका केशरबहादुर गुरुङ, दाङका हिरामणी पौडेल र रुपन्देहीका खुमानन्द भुसाल मिलेर व्यवसायिक रुपमा ड्रागन फ्रुटको खेती गर्नुभएको छ । प्यूठानको दरभान सहित दाङको राप्ती गाउँपालिका वडा नं. २ लालमटिया ड्रागन फ्रुट सहित अम्बा र वयर खेती गरेको सञ्चालक केशरबहादुरले बताउनुभयो ।

व्यवसायमा तीन जनाले हाम्रो बहुउदेश्यीय कृषि फर्म दर्ता गरी करिब २५ लाख रुपिँया लगानी गर्नुभएको छ । दुबै क्षेत्रमा गरी एक हजार दुई सय बोट ड्रागन फु्रट लगाईएको छ भने अरु बोट अम्बा र बयर लगाएको गुरुङले बताउनुभयो । उहाँका अनुसार ड्रागन फु्रट भारतको गुजरात, अम्बा तामिलनाडु र वयरको बेर्ना कलकत्ताबाट खरिद गरी ल्याइएको हो ।

दर्भानमा करिब २० रोपनी र लालमटियामा एक बिगाह क्षेत्रफलमा खेती गरिएको छ ।
ड्रागनले यही साउन देखी फल समेत दिन सुरु गरेको हो । हालसम्म करिब १ क्विन्टल फु्रट विक्रि समेत गरिसकेको उहाँले बताउनुभयो ।

पहिलो वर्ष केही कम मात्रामा फल दिएपनि अबका वर्षमा राम्रो फल्ने उहाँले बताउनुभयो । फर्ममा रातो र सेतो गरी दुई थरीको ड्रागन फु्रट उत्पादन भएको छ । रातोलाई प्रति केजी ८ सय रुपिँया र सेतोलाई प्रतिकेजी ७ सय रुपिँयामा विक्रि गर्दै आएको उहाँले बताउनुभयो ।

उत्पादित फु्रट माग अनुसार जिल्लासँगै वुटवल, काठमाडौंमा खपत भइरहेको ड्रागनसंगै अम्बा, वयरले समेत फल दिन सुरु गरेको र विक्रिवितरण समेत गर्दै आएको उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *