प्यूठान, ३ असोज । आज संविधान दिवस । २०७२ असोज ३ गते संविधानसभाबाट निर्मित नेपालको संविधान जारी भएको पाँच वर्ष पुरा भएको छ ।
दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री लगायतले देश तथा विदेशमा रहेका नेपालीलाई बधाई तथा शुभकामना दिनुभएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा अमूल्य जीवन गुमाउने ज्ञात अज्ञात शहीदप्रति श्रदाञ्जली अर्पण गर्नुभएको छ ।
राष्ट्रपतिको सन्देश
राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देस दिँदै राजनीतिक अधिकार प्राप्तीका लागि गरिने संघर्षको चरण सम्पन्न भएकाले संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भइ आआफ्नो तर्फबाट इमान्दार प्रयास जारी राख्न सवलाई आह्वान गर्नुभएको छ ।
उहाँले मुलुकलाई सामाजिक न्याय सहितको आर्थिक समृद्धिको दिशातर्फ अगाडी बढाउनुपर्ने महान दायित्व रहेको बताउनुभएको छ ।
प्रधानमन्त्रीको सम्बोधन
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संविधान दिवसको अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिने कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्वोधन गर्ने कार्यक्रम तय भएको हो ।
