> आर्थिक/बिकास > प्यूठानबाट चल्न थाले लामो दुरीका यातायातः ६ महिनापछि यातायात सञ्चालन हुँदै


प्यूठानबाट चल्न थाले लामो दुरीका यातायातः ६ महिनापछि यातायात सञ्चालन हुँदै

प्यूठान, २ असोज । जिल्लामा कोरोना भाईरस महामारीका कारण बन्द रहेका सार्वजनिक सवारीसाधन आजदेखि सञ्चालन भएका छन् । कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दीले गत चैत महिनादेखी बन्द भएका लामो दुरी तथा अन्र्तजिल्लामा सञ्चालन हुने सार्वजनिक सवारीसाधन आजदेखी सञ्चालनमा आएका हुन् ।

सरकारले असोज १ गतेदेखी सवारीसाधन सञ्चालन गर्न अनुमती दिएपनी १ गते विश्वकर्मा पुजा भएकाले आज बिहान(असोज २ ) देखि सवारीसाधन सञ्चालनमा आएको स्वर्गद्धारी गौमखी यातायात सेवा प्रालीका सञ्चालक समिति सदस्य एवं सुचना अधिकारी हरी खड्काले बताउनुभयो । जिल्लामा रहेका स्वर्गद्धारी गौमखी यातायात सेवा प्राली र नमस्ते प्युठान यातायात सेवाको छुट्टाछुट्टै बैठक बसी एकद्धार प्रणालीबाट सवारीसाधन सञ्चालन गरिएको हो ।

यातायात सञ्चालनमा आएपछि जिल्लामा यातायात व्यवसायि, कर्मचारी, यात्रुहरुको चहलपहल समेत बढेको छ । आजदेखि यातायात व्यवसायिहरुले टिकट काउण्टर पनि सञ्चालनमा ल्याएका छन् । सरकारले कोरोना भाइरसको महामारीको समयमा गाडी सञ्चालन गर्दा बनाएको मापदण्डको आधारमा गाडीको सिट क्षमताको आधा मात्र यात्रु राख्ने, ५० प्रतिशतसम्म भाडा बढाउने , चालक, सहचालक र यात्रुले मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गरेर सवारीसाधन सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । जिल्लाबाट आज पहिलो दिन नेपालगन्जका लागि बस र दाङका लागि बस संगै टाटासुमो र उईङ्गर सञ्चालन भएका छन् ।

बुटवल निषेधाज्ञा रहेकाले केही समय वुटवलका लागि सवारीसाधन छाड्दैनौ, सुचना अधिकारी खड्काले भन्नुभयो,–‘प्युठान–काठमाडौं, प्युठान–कृष्णनगर, प्युठान –महेन्द्रनगरका लागि सवारीसाधन सञ्चालनका लागि व्यवसायिलाई आग्रह गरेका छौँ ।’ काठमाडौंका लागि दुबै संस्थाका गरी तीन वटा बस आज साझ जानेछन् ।

काठमाडौं जानका लागि केही व्यक्ति सम्पर्कमा समेत आएको उहाँले बताउनुभयो । प्युठानमा जोर बिजोर यातायात सञ्चालन भएपनि जिल्लाबाहिर भने जोरविजोर लागु भएको छैन् । लामो समयसम्म सवारीसाधन ठप्प रहेकोले आफुहरुको व्यवसायनै प्रभावित भएको समयमा सवारीसाधन सञ्चालनमा आउँदा अब केही राहत मिल्ने यातायात व्यवसायिहरुले बताएका छन् ।

तर सरकारले निर्धारण गरेको भाडादरमा असन्तुष्ट संगै सरकारले लिएको मौद्रिक नीति लागु नहुँदा यातायात व्यवसायि समस्यामा रहेको सुचना अधिकारी खड्काले बताउनुभयो । उहाँले भन्नुुभयो,–‘कोभिडका कारण यातायात व्यवसायिहरु नाफामुखी भन्दा पनि सेवामुखी हिसाबले यातायात सञ्चालन गरेका छौ ।’

त्यस्तै नमस्ते प्युठान यातायात सेवाका कार्यालय प्रमुख दिलबहादुर दसौदीले ६ महिनापछि यातयात सञ्चालनमा आएपछि व्यवसायिहरुलाई केही राहत मिलेपनी पहिलेको अवस्था आउन गाहे रहेको बताउनुभयो । कोरोना महामारी सकिएर पहिलेकै अवस्थामा जस्तै सवारीसाधन सञ्चालन गर्न पाए यातायात व्यवसायिहरुलाई सहजताको महसुस हुने छ, कार्यालय प्रमुख दसौदीले भन्नुभयो,–‘मापदण्ड अपनाएर, आधा सिट यात्रु राखेर व्यवसायि सन्तुष्टि हुने अवस्था छैन् ।’

निषेधाज्ञाको समयमा सवारीसाधन थन्काएर राख्नु भन्दा सञ्चालन गर्दा यातायात व्यवसायिलाई केही राहत संगै विषम परिस्थितीमा सहयोग गरेको उहाँले बताउनुभयो । जिल्लामा दुबै संस्थाका सानाठूला गरि करिब तीन सय यातायात व्यवसायि रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *