प्यूठान । जिल्लाका ६ वटा स्थानीय तहमा आधारभूत अस्पताल भवन निर्माण भइरहेका छन् । माण्डबी गाउँपालिकाले अस्पतालको भवन निर्माण कार्य सम्पन्न गरेको छ । अन्य पालिकामा १५ शय्याको अस्पताल भवन धमाधम निर्माण भइरहेका छन् । अधिकांश भवनका ८० प्रतिशतभन्दा धेरै काम सम्पन्न भएका छन् । अस्पतालका लागि आवश्यक पर्ने सामग्री, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी व्यवस्थापनको टुंगो नहुँदा सञ्चालनमा चुनौती देखिएको छ ।
१७ करोड ६२ लाख लागतमा माण्डवी गाउँपालिकाले अस्पताल भवन निर्माण सम्पन्न गरेको छ । अस्पताल सञ्चालनमा ल्याउने बारे टुंगो छैन । ‘साविकको देविस्थान स्वास्थ्य चौकीलाई नयाँ भवनमा सारेर सेवा सञ्चालनमा ल्याएका छौं’ ,गाउँपालिकाका स्वास्थ्य शाखा पोख्रेलले भन्नुभयो, ‘दरबन्दी अनुसार जनशक्ति र आवश्यक सामग्री नहुँदा स्तरोन्नतिसहित सेवा प्रवाहमा समस्या भएको हो ।’ यसबारे स्वास्थ्य मन्त्रालयमा पहल भइरहेको उहाँले बताउनुभयो ।
मल्लरानी गाउँपालिकाले १८ करोड, झिमरुक गाउँपालिकाले २३ करोड, ऐरावती गाउँपालिकाले १७ करोड ५७ लाख, गौमुखी गाउँपालिकाले १८ करोड र स्वर्गद्वारी नगरपालिकाले २५ करोडको लागतमा भवन निर्माण कार्य गरिरहेका छन् । भवन निर्माण कार्य अन्तिम चरणमा रहेको गौमुखी गाउँपालिका र ऐरावती गाउँपालिकामा समेत तत्काल स्तरोन्नति सहित सेवा संचालनमा भने चुनौती देखिएको हो ।
मल्लरानी गाउँपालिका र स्वर्गद्वारी नगरपालिकामा नयाँ भवनसँगै प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन रहेकोले नयाँ भवनलाई तत्काल उपयोगमा ल्याउन सकिनेछ । ‘तत्काल अस्पतालका लागि आवश्यक सामग्री र जनशक्तिको व्यवस्थापन पालिका आफैले गर्न सक्ने अवस्था रहँदैन’ ,मल्लरानी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले भन्नुभयो, ‘संघीय सरकार र प्रदेश सरकारले आवश्यक सहयोग गरेमा स्तरोन्नति सहितको सेवा प्रवाह हुनेछ ।’ चिकित्सक र स्वास्थ्यकर्मी सहितको कर्मचारी व्यवस्थापन र अस्पतालका लागि आवश्यक सामग्री संघीय सरकारले व्यवस्थापन गर्न सकेमा अहिलेको तीन वेडको प्राथमिक स्वास्थ्य केन्द्रबाट तत्काल बिशिष्ठ सेवा प्रदान गर्न सकिने सम्भावना रहेको उहाँले बताउनुभयो । मल्लरानी गाउँपालिकाको आधारभूत अस्पताल भवन निर्माण कार्य ९० प्रतिशत सम्पन्न भएको छ ।
स्थानीय तहसँग सीमित श्रोतका कारण तत्काल अस्पताल सञ्चालन चुनौतीपूर्ण देखिएको स्वर्गद्वारी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक दुर्गाप्रसाद गोराथोकीले बताउनुभयो । ‘भवन निर्माणका लागि ७ करोड लगानी साझेदारी पालिकाबाट भइसकेको छ’ ,उहाँले भन्नुभयो, ‘तत्काल आवश्यक सामग्री खरिदमै दुई करोडभन्दा बढी खर्च लाग्छ ।’
९ स्थानीय तह रहेको जिल्लामा प्यूठान नगरपालिका क्षेत्रभित्रै जिल्ला अस्पताल रहेको छ । नौबहिनी गाउँपालिका र सरुमारानी गाउँपालिकामा भने निर्माण कार्य सुरु हुन सकेको छैन । नौबहिनी गाउँपालिकामा भवन निर्माणस्थलको विवादका कारण निर्माण प्रारम्भ हुन नसकेको हो । नेपाल सरकारले लुङ स्वास्थ्य चौकीलाई अस्पतालको रूपमा विकास गर्ने निर्णय गरे पनि उक्त स्वास्थ्य चौकी गाउँपालिकाको केन्द्रभन्दा टाढा अपायक स्थानमा भएको भन्दै विवाद भएपछि निर्माण प्रक्रिया नै शुरु हुन नसकेको हो ।
१० शय्याको अस्पताल निर्माणको मापदण्डलाई सुधार गरी १५ शय्या बनाउनुपर्ने प्रक्रियाका कारण भवन निर्माण प्रारम्भ हुन नसकेको सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले बताउनुभयो । ‘जनसंख्या र भुगोलका हिसाबले पनि यहाँ १५ शय्याको अस्पताल हुनुपर्ने भएकाले सुधारका लागि पहल गरिरहेका छौ’ ,उहाँले भन्नुभयो, ‘अस्पताल भवन निर्माणका लागि गाउँपालिकाको केन्द्र बड्डाँडामा १६ रोपनी जग्गा व्यवस्थापन भइसकेको छ ।’
२५ करोडको लागत स्टमेट तयार भएकोले लागत साझेदारीका बारेमा मन्त्रालयसँग पहल भइरहेको उहाँले सुनाउनुभयो ।





