काठमाडौं, २६ भाद्र । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हालै मन्त्रालयले खुलाएको जग्गाको खण्डीकरण (कित्ताकाट)बारेमा आम जनतालाई भ्रमित पार्नेगरी उक्त निर्णयलाई अतिरञ्जीत बनाएको जनाएको छ ।
मन्त्रालयले आज शुक्रबार पत्रकार सम्मेलन गरी बिभिन्न समाचार माध्यमहरुमा जग्गाको कित्त्ताकाट व्यवस्थित गर्ने निर्णयलाइ अतिरञ्जित ढंगबाट व्याख्या गरी, सम्बन्धित अधिकारी र भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालमाथि बिभिन्न झूटा र मनगढन्त आरोप लगाएको भन्दै मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रस्तावित भूउपयोग नियमावली जारी नहुन्जेलसम्मका लागि जग्गाको कित्ताकाटबारे गएको भदौ १८ गतेको मन्त्रिस्तर निर्णयबाट भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले ‘कृषियोग्य जग्गाको खण्डिकरण सम्बन्धी भएका पूर्व निर्णयहरु बदर गरिएको छ । भू-उपयोग नियमावली जारी भई भू-उपयोग नक्शा/डाटा तयार गरी स्थानीय तहलाई हस्तान्तरण भएपछि सोही बमोजिम हुने गरी हाललाई भू-उपयोग ऐन, २०७६ र प्रचलित कानूनको परिधिमा रही जग्गाको कित्ताकाट सम्बन्धी व्यवस्था खुलाउने’ निर्णय गर्नुभएको थियो ।
त्यसपछि विभिन्न सञ्चारमाध्यमहरुबाट मन्त्री अर्याल, मन्त्रालय, नेपाल सरकारमाथी नै प्रहार हुनेगरी अतिरञ्जीत, भ्रामक समाचारहरु प्रशारण हुँदै आएका छन् । सोही सन्दर्भमा मन्त्रालयले पत्रकार सम्मेलन गरी कित्ताकाट खुलाउने उक्त निर्णयबारे प्रष्ट्याएको हो ।
