प्यूठान, २० भाद्र । जिल्लामा हालसम्म करीव ५ हजार व्यक्तिको पीसीआर र १० हजार व्यक्तिको आरडीटी विधिबाट कोरोना जाँच गरिएको छ ।
स्वास्थ्य कार्यालय प्यूठानको शनिबार सार्वजनिक गरेको तथ्यांक अनुसार ४ हजार ९२० जनाको पीसीआर जाँच गरिएको छ । जसमध्ये ११४ जनाको नतिजा आउन अझै बाँकी छ ।
१० हजार ७९२ जनाको आरडीटी विधिबाट कोरोना जाँच गरिएको छ । आरडीटी विधि प्रभावकारी नभएपछि पीसीआर विधि अपनाइएको थियो । अहिले आरडीटी विधिबाट परीक्षण रोकिएको छ ।
४५७ जना संक्रमित
जिल्लाभर ४५७ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ३८ जना अहिले आइसोलेसनमा रहेका छन् । ४१५ जना निको भएर घर फर्किएका छन् । क्वारेन्टाइनमा ११० जना बसेका छन् ।
२ जनाको मृत्यु
कोरोना संक्रमण देखिएका दुई जना व्यक्तिको जिल्लामा ज्यान गएको छ । स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षीय पुरुष र ५८ वर्षीय पुरुषको मृत्यु भएको हो । उनीहरुको उपचारको क्रममा बुटवलमा मृत्यु भएको हो ।
