राष्ट्रिय

सञ्चारकर्मीको परिचय दिई सवारी साधनमा प्रेस लेखेर दुरुपयोग गर्नेलाई कारबाहीको माग

प्यूठान, १४ भाद्र । विश्वव्यापी रुपमा फैलिएको कोभिड (१९) को संक्रमणलाई नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञाका क्रममा कतिपयले सञ्चारकर्मीको परिचय दिई सवारी साधनमा प्रेस लेखेर दुरुपयोग गरेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्ण भएको जनाएको छ ।

जनतालाई सूसुचित गराउने प्रयोजनका लागि दिइएको सुविधालाई कसैले पनि दुरुपयोग गर्नु गम्भीर आपत्तिको विषय भएको भन्दै यस्ता दुरुपयोगले पत्रकारिता पेशाको प्रतिष्ठा र मर्यादामा आँच पुग्ने महासंघले जनाएको छ ।

महासंघले पत्रकारिता पेशाभन्दा बाहिरका व्यक्तिहरुलाई आफ्नो सवारी साधनमा प्रेस लेखेर हिँडडुल नगर्न समेत आग्रह गरेको छ । साथै, आम सञ्चारकर्मी र सञ्चार प्रतिष्ठनलाई पनि पेशागत कर्मका समयमा मात्रै प्रेस उल्लेख गरिएको सवारीसाधन प्रयोग गर्न, आफन्त वा साथीभाइलाई प्रेस पास नदिन र प्रेस पासको दुरुपयोग हुन नदिन सचेत रहन आग्रह गरेको छ ।

प्रेसपासको दुरुपयोग रोक्न महासंघ नेपाल प्रहरी लगायतका सम्बन्धित निकायहरुलाई आग्रह गर्दै प्रेस उल्लेखित सवारी साधनमा सवार सबै यात्रुको प्रेस पास चेकजाँच गर्न, प्रेस पास अधिकारिक भए नभएको निश्चित गर्न र सम्बन्धित व्यक्ति पत्रकारिताको पेशागत जिम्मेवारीमा हिँडेको वा नहिँडेको निश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

कसैले प्रेसको दुरुपयोग गरेको पाइएमा कानुनी कारवाही गर्न महासंघ सम्बन्धित निकाय समक्ष आग्रह गरेको छ ।

 

Related Articles

Back to top button