> समाज > १३ वर्षीय बालकको पहिरोले दुवै खुट्टा भाँचियो : उपचारको लागि तपाईंको सहयोग कुर्दै


१३ वर्षीय बालकको पहिरोले दुवै खुट्टा भाँचियो : उपचारको लागि तपाईंको सहयोग कुर्दै

प्यूठान, ९ भाद्र । पहिरोमा परेर दुवै खुट्टा भाँचिएपछि भैरहवा मेडिकल कलेजमा भर्ना भएका छन् १३ वर्षीय जीवन पुन । तर दुवै खुट्टाको शल्यक्रिया (अप्रेशन) गर्नुपर्ने भएका कारण अस्पतालमा रहेपनि जीवनका अभिभावकलाई आर्थिक समस्याले सताएको छ ।

नौवहिनी गाउँपालिका वडा नं. ८ फोप्लीका कर्णबहादुर पुन छोरा जीवनलाई उपचार गराउन भैरहवा मेडिकल कलेजमा पुगेको दश दिन वितिसक्दा पनि शल्यक्रिया गराउने रकम जुटाउन नसक्दा चिन्तित बन्नुभएको छ । उपचार गराउने ठाउँसम्म जसोतसो पु¥याएपनि उपचार गर्दा लाग्ने खर्च जुटाउन नसक्दा समस्यामा हुनुहुन्छ ।

साउन ३२ गते घरबाट बजार जाने क्रममा पहिरो खसेर जीवनको दुवै खुट्टा भाँचिएको बुँवा कर्णबहादुरले प्यूठान समाचारडटकमलाई बताउनुभयो । भैरहवा लगेर अहिलेसम्म उपचार गर्दा करीव डेढ लाख रुपियाँ खर्च भइसकेको छ । “अझै तीन लाख जति चाहिन्छ भनेका छन्” उहाँले भन्नुभयो, “कहिँ कतैबाट सहयोग हुन्छ की भन्ने आश गरेको छुँ ।”

जीवन कक्षा ७ मा अध्ययन गर्ने उहाँले जानकारी दिनुभयो । श्रीमति, दुई छोरा र एक छोरीको परिवार किसानी गरेर पाल्दै आएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *