प्यूठान, २२ साउन । एक जना स्थानीयमा कोरोना संक्रमण देखिएपछि शिल गरिएको बाग्दुला बजारमा स्थानीयको स्वाव संकलन शुरु गरिएको छ । जिल्लामा पछिल्लो समय गरिएको परीक्षणमा समुदायमा रहेको एक जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि स्थानीयको स्वाव संकलन गरि कोरोना जाँच शुरु गरिएको हो ।
प्यूठान नगरपालिकाले हिजो बुधबारदेखि साउन २५ गतेसम्मका लागि बाग्दुला बजार सहितका ठाउँ शिल गरेको छ । प्यूठान नगरपालिका वडा नम्वर ७ र ८ मा पर्ने मुख्य व्यापारीक केन्द्र बाग्दुला बजार क्षेत्र शिल गरिएको छ ।
होटल ब्यवसायमा संलग्न उनको परिवारका सदस्य सहित छिमेकिको कन्ट्याक्ट ट्रेसिङ गरि स्वाव परीक्षण गर्न थालिएको छ । कोरोना जोखिम बढेपछि वार्षिक प्रगति समिक्षा कार्यक्रम समेत स्थगित गरिएको नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतिले जानकारी दिनुभयो ।
अत्यावस्यक सेवा बाहेक यातायात, पसल, उद्योग सबै बन्द गर्ने र भेटघाट गर्न समेत रोक लगाइएको छ । प्युठान नगरपालिकाको धाइरे, मरन्ठाना, सारीवाङ, पुण्यखोला सम्मका सबै क्षेत्र शिल गरिएको छ ।
जिल्लामा पुनः परीक्षणको दायरा बढाइएको छ । जिल्लामा ३४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । संक्रमित मध्ये सात जना मात्र आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय प्यूठानका सूचना अधिकारी पुष्कल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार ३५४ जनाको परीक्षणको नतिजा आउन बाँकी छ ।