> समाज > प्यूठानमा बढ्दैछन आत्महत्याका घटना : न्यूनीकरण कसरी गर्ने ?


प्यूठानमा बढ्दैछन आत्महत्याका घटना : न्यूनीकरण कसरी गर्ने ?

प्यूठान, २१ साउन । वर्षेनी बढ्दै गएको आत्महत्याको घटना नरोकिदा सरोकारवाला चिन्तित बनेका छन् । आत्महत्या समाजको प्रमुख सामाजिक समस्याको रुपमा देखा पर्न थालेपछि सरोकारवाला यसप्रति चिन्तित बनेका हुन् ।

लकडाउनको अवधिमा मात्र ३० वटा आत्महत्याका घटना भएको प्रहरीको तथ्याङ्क छ । ‘लकडाउन अवधिमा २७ जना झुण्डिएर र ३ जना विष सेवनबाट आत्महत्या गरेका छन्,’ जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्कीले भन्नुभयो, ‘चैत देखि असारसम्मको मात्र तथ्याङ्क हो ।’ वर्षभरीमा आत्महत्या गर्नेको सङ्ख्या त्यो भन्दा बढी छ ।

आर्थिक वर्ष २०७६/०७७ मा ६२ जनाले आत्महत्या गरेका छन् । २०७५/०७६ मा ६३ र ०७४/०७५ मा ५९ जनाले आत्महत्या गरेको प्रहरीको त्रिवर्षीय तथ्याङ्क छ । प्रहरीले आत्महत्याको घटना बढेपछि त्यसको रोकथामका लागि जनचेतनामुलक कार्यक्रम समेत गर्दै आएको छ ।
‘गतवर्ष सात पटक आत्महत्या रोकथाम सम्वन्धि कार्यक्रम गरियो,’ प्रहरी नायव उपरीक्षक कार्कीले भन्नुभयो,‘यस विषयमा जनचेतनामुलक कार्यक्रम गर्दै आएका छौं ।’ प्रहरीले अरु सचेतनाका कार्यक्रमसँगै आत्महत्या रोकथाम सम्वन्धि सचेतनाका कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)का जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेले बालबालिकादेखि वृद्धवृद्धा उमेरसम्मका व्यक्तिले आत्महत्या गर्ने गरेको बताउनुभयो । उहाँले आत्महत्याका घटना बढ्नुमा विभिन्न सामाजिक तथा मनोवैज्ञानिक कारण हुनसक्ने उहाँको भनाई छ । सानै उमेरमा प्रेम गर्ने, अन्तरजातीय तथा अनमेल विवाह, घरेलु हिंसा, युवाहरुमा बेरोजगारी समस्या, बढ्दो प्रविधिसँगै आएको विकृतीले गर्दा आत्महत्याका घटनाहरु बढ्दै गएको उहाँले बताउनुभयो ।

आत्महत्याका घटना न्युनिकरणका लागि युवाहरुमा स्वरोजगार, सचेतनाको कार्यक्रमका साथै मनोवल बढ्ने खालका कार्यक्रममा जोडदिनुपर्ने उहाँको सुझाव छ । ‘जिल्लामा आत्महत्याको समस्या बढ्दै गएपनि ठोस कार्यक्रम सञ्चालन हुन सकेको छैन,’ आचार्यले भन्नुभयो,‘आत्महत्याका घटना रोकथामतर्फ पहल थाल्नु आवश्यक छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *