प्यूठान, २ साउन । कर सम्वन्धी सेवा प्रवाह गर्न करदाता सेवा कार्यालय प्यूठानमा खुलेको छ ।
माण्डवी गाउँपालिका–३ स्थित जस्पुरमा प्यूठान र रोल्पाका सेवाग्राहीलाई सेवा प्रदान गर्ने गरि कार्यालय स्थापना भएको हो ।
आय व्यय विवरण, कर दाखिला, प्यान दर्ता, नविकरण, खारेजी लागयतका करसम्वन्धी कार्यका लागि दाङको तुल्सीपुर जानुपर्ने बाध्यता टरेको छ ।
कार्यालयबाट करसम्वन्धि सेवा सहज रुपमा उपलब्ध हुने कार्यालय प्रमुख कर अधिकृत रामहरी मरासिनीले बताउनुभयो ।
‘असार १७ गतेदेखि जिल्लामा हाजिर भएर व्यवस्थापनको काम गरियो,’ उहाँले भन्नुभयो, ‘साउन १ गतेदेखि सेवा शुरु भइसकेको छ ।’ तुल्सीपुरमा गरिने काममध्ये ९० प्रतिशत काम सेवा कार्यालयबाट हुने उहाँको भनाई छ ।
सेवा कार्यालय खुलेपछि जिल्लाका उद्योगी व्यवसायीलाई धेरै सहज हुने प्यूठान उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक प्रकाश खनालले बताउनुभयो । ‘लकडाउनका कारण छुट पाएका उद्योगी व्यवसायी कर कार्यालय पुग्न पाएका थिएनन,’ उहाँले भन्नुभयो, ‘सेवा कार्यालयबाट उक्त छुट समेत सहज रुपमा लिन पाएका छन् ।’
