> समाज > नमुना बालबिकास निर्माणका लागि शैक्षिक सामग्री


नमुना बालबिकास निर्माणका लागि शैक्षिक सामग्री

जायश्वर जैसी
ठुलाबेसी, २२ असार । नमुना बालबिकास निर्माणका लागि गौमुखी माध्यमिक विद्यालय ठुलाबेसीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । गौमुखी गाउँपालिकाले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत २ लाख रुपियाँ बराबरका ४५ प्रकारका शैक्षिक एवं खेलकुद सामग्री हस्तान्तरण गरेको हो ।

सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले उपलब्ध शैक्षिक सामग्रीको सही सदुपयोग गर्न सके बालबालिकाको चौतर्फी विकासमा टेवा पुग्न सक्ने बताउनुभयो ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सिफारिस तथा कार्यान्वयन समिति सदस्य ज्ञानुमाया केसीले सामग्रीहरू खरिद गर्नुपूर्व सरोकारवालासँग सल्लाह एवं समन्वय नगरी खरिद गरिएको हो कि भन्दै मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमलाई गाउँपालिकाले आफ्नै कार्यक्रम सम्झन नसकेकोमा गुनासो गर्नुभयो ।

गौमुखी गाउँपालिका वडा नम्वर ४ का अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुक बहादुर केसीले सामग्रीहरूको उचित प्रयोग र व्यवस्थापनमा ध्यान दिए बालबालिकाले रमाइलो वातावरणमा सिकाइ वृद्धि गर्न सक्ने बताउनुभयो ।

त्यस्तै विद्यालयका प्रधानाध्यापक अर्जुन बहादुर केसीले सामग्री खरिदको क्रममा विद्यालयसँग समन्वय नगरी खरिद गर्दा केही सामग्री अनावश्यक आएकोले समन्वय गरेको भए ती सामग्रीको सट्टा थप आवश्यक सामग्री आउन सक्ने बताउनुभयो । उहाँले प्राप्त शैक्षिक सामाग्रीको सदुपयोग हुने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम व्यवस्थापन समिति सदस्य गोबर्धन थापा, सोही कार्यक्रमका सहजकर्ता सीताराम केसी, विद्यालयका पूर्व अध्यक्ष बालाराम न्यौपाने लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन गौमुखी गाउँपालिकाका शिक्षा एवं खेलकुद शाखा प्रमुख ओमहरी पोख्रेलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *