प्यूठान, २० असार । सलह किराले जिल्लाका सवै स्थानीय तहमा लगाइएको बालीमा क्षति गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अनुसार जिल्लाभर हालसम्म ३२२ हेक्टर क्षेत्रफलमा लगाइएको बालीमा सलहले क्षति गरेको छ ।
परियोजनाका निमित्त प्रमुख सुमन खनालका अनुसार जिल्लाका सवै स्थानीय तहमा सलहले क्षति गरेको बताउनुभयो । सलहले मकै र धान बालीमा बढी क्षति गरेको छ । स्थानीय कृषि शाखा र कृषकहरुबाट विवरण संकलन गरिएको र कतिपय स्थानीय तहको विवरण प्राप्त भइनसकेको उहाँले बताउनुभयो ।
कुन स्थानीय तहमा कति क्षति ?
सलहले सवैभन्दा बढी झिमरुक गाउँपालिकामा ८० हेक्टर, ऐरावती गाउँपालिकामा ७० हेक्टर, मल्लरानी गाउँपालिकामा ६३ हेक्टर, स्वर्गद्धारी नगरपालिकाम ५५ हेक्टर, सरुमारानी गाउँपालिकामा ३८ हेक्टर, प्यूठान नगरपालिकामा १५ हेक्टर क्षेत्रफलमा क्षति पुगेको तथ्यांक रहेको छ ।
नौबहिनी, गौमुखी र माण्डवी गाउँपालिकाबाट तथ्यांक संकलन भइनसकेको खनालले जानकारी दिनुभयो । असार १४ गतेदेखि जिल्लामा सलह प्रवेश गरेको भएपनि हिजो शुक्रबार कतैपनि देखिएन । यसअघि जिल्लाका सवै ६४ वडामा सलह देखिएको थियो ।
