आर्थिक/बिकाससमाज

मुख्यमन्त्री कार्यक्रम बन्यो साहारा

सागर रिजाल
प्यूठान, १८ असार । वुवाको मृत्यु पछि आमाले अर्कैसँग विहे गरेपछि प्यूठानको मल्लरानी गाउँपालिका–४ भन्ज्याङका तीन किशोरी वेसाहारा बने । भएको एउटा पुरानो घर पनि भत्कियो । यहि वेसाहाराको अवस्थामा साहारा बन्न पुग्यो, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम ।

१५ वर्षिय सुजाता शाहीले भन्नुभयो, ‘सधैं खाने कुराकै बारेमा सोच्थ्यौं, कहाँबाट घर बनाउनु ।’ कार्यक्रमको ६० हजार रुपैंया र आफन्तको सहयोगमा व्लकको ईटा प्रयोग गरी दुई कोठे पक्की घर निर्माण भएको छ । ‘प्रदिप दाईको मिहनत र ठूलीआमा (तुल्सी केसी)ले २० हजार रुपैंया दिनुभएको थियो ।’ ,सुजाताले भन्नुभयो, ‘शौचालय बनेको छैन, यो पनि बनाउनु पाए हुन्थ्यो भन्ने लागेको छ ।’

पुरानो, साँघुरो घरमा एक्लै बस्दै आउनुभएकी मल्लरानी गाउँपालिका–३ मुन्डाँडाकी काली सार्कीको पनि गाउँपालिकाको जस्तापाता र कार्यक्रमको ६० हजार रुपैंया सहयोगमा नयाँ घर बनेको छ । घर बनेकोमा खुशी हुँदै उहाँले भन्नुभयो, ‘अब पानी पर्दा पनि ढुक्कसंँग सुत्न पाइने भयो ।’

आर्थिक अवस्था कमजोर भई असुरक्षित बसोबास गर्दै आएका गरीब तथा विपन्न घरपरिवारका लागि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम मार्फत गाउँपालिकामा यस वर्ष नयाँ र मर्मत गरी १९ घर निर्माण भएका छन् । रु.७ लाखको लगानी साझेदारीमा १० नयाँ घर र ९ घर मर्मत गरिएको कार्यक्रम सहजकर्ता हरी भण्डारीले जानकारी दिनुभयो ।

लामो समयदेखि आर्थिक अवस्थाले गर्दा घर निर्माण तथा मर्मत गर्न नसकेको व्यक्तिको परिवारका लागि सहयोग पुग्ने उद्देश्यले सहयोग गरिएको गाउँपालिका उपाध्यक्ष सरिता जि.सी.ले बताउनुभयो ।

कार्यक्रमबाटै तरकारी खेतीका टनेल, प्राथमिक स्वास्थ्य केन्द्र खलङ्गा र धरमपानी स्वास्थ्य चौकी चुजाँठाटीमा स्तनपान कक्ष, वडा २ चुजाँमा सिंचाइ कुलो, वडा नम्बर ५ मा बालविकास केन्द्र निर्माण लगायत काम भएका छन् ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम मार्फत स्वास्थ्य चौकी धरमपानीमा निर्माणाधिन स्तनपान कक्ष
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम मार्फत मल्लरानी गाउँपालिका–२ मा बनेको सिंचाई कुलो

 

Related Articles

Back to top button