> समाज > प्यूठानमा सलह लखेट्नै मुस्किल : मकैबालीमा ठूलो क्षती


प्यूठानमा सलह लखेट्नै मुस्किल : मकैबालीमा ठूलो क्षती

प्यूठान, १७ असार । जिल्लामा चार दिनदेखि सलह किराले खेतीबालीमा क्षति गरिरहेको छ । आईतबारदेखि फाट्टफुट्ट रुपमा जिल्ला प्रवेश गरेको सलह किरा अहिले जिल्लाका सवै ठाउँमा पुगेर खेतीबालीमा क्षति गरिरहेको हो ।

बाली जोगाउन सकिएन
सलह लखेट्न किसानले विभिन्न उपाय अपनाएपनि सलह लखेट्न नसक्दा बाली नोक्सान भएको किसानले बताएका छन् । खेतबारीमा बसेपछि सलहलाई लखेट्न मुस्किल हुने गरेको किसानले बताएका छन् । गाउँभरी ढपक्कै सलहले छोपेको छ, गौमुखी गाउँपालिका–३ रजबाराका लाल बहादुर सेनले भन्नुभयो, धेरै प्रयास गर्दा पनि सलह लखेट्न सकिएको छैन । सलहले गाउँमा मकैबालीसँगै तरकारी, धानको वीऊ, कोदोको वीउ खाएको छ ।

सरुमारानी गाउँपालिका–३ हंसपुरमा सलहले क्षति पु¥याएको मकै बाली ।

सलह लखेट्न प्रयास जारी
किसानले सलह लखेट्न कृषि विज्ञले दिएको सुझावका आधारमा आगो बाल्ने, थाल ठटाउने, बाँजा बजाउने, ठूला स्पिकर बजाउने जस्ता काम गरिरहेका छन् । तरपनि बालीमा बसिसकेपछि सलहलाई हटाउन नसकिने किसानले बताएका छन् । एक पटक बसेपछि नउड्दो रहेछ, सेनले भन्नुभयो, पुरै बाली सक्यो । किसानहरु आज पनि खेतबारीमा पुगेर सलह लखेट्ने काम गरिरहेका छन् ।

प्यूठान नगरपालिका–८ रज्यानमा सलह लखेट्न बालिएको आगो ।

जिल्लाका अधिकांश क्षेत्रमा खेती नष्ट
जिल्लाका अधिकांश क्षेत्रमा सलह पुगेको छ । चारदिन अघिदेखि जिल्ला भित्रिएको सलह बुधबार पनि अर्को झुण्ड देखिएको छ । झिमरुक खोला, माडी खोला क्षेत्रमा बुधबार पनि सलहको ठूलो झुण्ड देखिएको हो ।
माण्डवी गाउँपालिका–५ रम्दीका शंकर आचार्यले हुलका हुल सलह किराले बारीको मकै नष्ट गरेको बताउनुभयो । तिग्रा, थाम, रम्दी, खैरा लगायत अधिकांश क्षेत्रमा सलहले मकैबाली नष्ट गरेको उहाँको भनाई छ । सलहले मकैबाली खाएपछि आफु सहितका कृषकहरु निराश बनेको उहाँको भनाई छ । मकैबाली राम्रो थियो, उहाँले भन्नुभयो, तर सवै सलहले सखाप पारिदियो ।

सलहबाट बाली जोगाउन स्थानीय तहको आग्रह
जिल्लाका सवै स्थानीय तहमा सलह पुगेको छ । सलह जिल्लभर फैलिएपछि किसानलाई बालीनाली जोगाउन स्थानीय सरकारले आग्रह गरेका छन् । स्थानीय तहल सूचना जारी गरी आगो बाल्ने, थाल ठटाउने, ठुला स्पिकर बजाउने, बाँजा बजाउने लगायत उपाय अपनाउन आग्रह गरेका छन ।

सवै गाउँलेलाई सलह लखेट्न सुझाव दिँदै आएको छु, प्यूठान नगरपालिका–८ मानागाउँका वडा सदस्य टेकुलाल गिरीले भन्नुभयो, आगो बाल्ने, थाल ठटाउने, धानखेतमा पानी भर्ने काम गर्न भन्दै आएको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *