प्यूठान, १० असार । माण्डवी गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गदै कोभिड–१९ संक्रमणका कारण लकडाउनले अर्थतन्त्रमा पार्ने नकारात्मक प्रभाव तथा रोजगारी गुमाएका श्रमिकलाई कामका आधारमा नगद वा खाद्यान्य उपलब्ध गराउने गरि कार्यक्रम तय गर्ने जनाएको छ । कोरोनाबाट परेको प्रभावलाई मध्यनजर गर्दै देश विदेशबाट फर्केकालाइ रोजगारीको व्यवस्था गर्ने जनाएको छ ।
यसै वर्ष उज्यालो माण्डवी
पालिकाले सञ्चालन गरेको उज्यालो माण्डवी अभियान अन्र्तगत यस आर्थिक वर्षमा गाउँपालिकाका सवै घरधुरीमा विद्युतीकरण गरिने नीति पालिकाले अघि बढाएको छ । “उज्यालो घर, माण्डवीको भर” कार्यक्रम संचालनलाई निरन्तरता दिइ विद्युतको भरपर्दो व्यवस्था गर्न विगतमा यस क्षेत्रमा सञ्चालनमा रहेका जलविद्युत आयोजनामार्फत विद्युतीकरणको कार्य अगाडि बढाईने उल्लेख छ । गरीव र असाहयका लागि मिटर बक्स, तार र एम.सि.वि वितरण गरि यस वर्ष सम्पुर्ण जनताको घरमा विद्युतिकरणको सुनिश्चितता गर्ने नीति ताथ कार्यक्रममा उल्लेख छ ।
९० प्रतिशत घरधुरीमा खानेपानीको पहुँच
माण्डवी गाउँपालिकामा एक घर एक धारा अभियानलाई यस बर्ष थप कार्यान्वयन गरि ९० प्रतिशत घरधुरीमा खानेपानीको पहुँच वृद्धि गर्ने भएको छ । चालु वर्षसम्ममा करिव ७० प्रतिशत घरधुरिमा शुद्ध खानेपानीको पहुँच पुगेको पालिकाले जनाएको छ ।
बाझो जग्गाको उपयोग गरौ आत्मनिर्भर बनौ
पालिका भित्र रहेका वाँझो जग्गाहरुको एकिकृत तथ्यांक संकलन गरी सोको पुर्ण उपयोगको व्यबस्था मिलाउन भूमि बैंकको स्थापना गर्ने नीति लिएको छ । बाझो जग्गालाई जग्गा धनिले अनिवार्य उपयोग गर्नुपर्ने यदि जग्गा आफैले प्रयोग नगरेमा करारमा दिनुपर्ने र करारमा जग्गा प्राप्तिका लागि प्रदेश सरकार समेतको सहयोगमा जग्गाको उपयोग गर्न गाउँपालिकाले कृषक तथा युवालाई प्रोत्साहन गर्ने नीति लिने उल्लेख छ ।
कृषिमा अनुदान होइन प्रोत्साहन
गाउँपालिकाले कृषि उत्पादनको परिमाणका आधारमा कृषकलाई प्रोत्साहन गरिने व्यबस्था मिलाउने भएको छ । कृषि उपज तथा कृषिजन्य उत्पादनमा आत्मनिर्भरताका लागि उद्यमशिलताको प्रवद्र्धन गर्न व्यबसायिक किसानहरुलाई सर्वसुलभ तरिकाबाट गुणस्तरिय विउ, मल, किटनाशक औषधिको उपलब्धता, उत्पादित बस्तुको भण्डारणका लागि प्रत्येक वडामा कृषि संकलन केन्द्रहरु निर्माण गर्ने नीति अघि सारेको छ ।
कृषि उत्पादनलाई वजार व्यबस्थामा सहजिकरण गर्न वडा कार्यालय देखि गाउँपालिका सम्म कृषि उत्पादन ढुवानीका लागि कृषि एम्बुलेन्सको व्यबस्था गर्दै किसानको लागत मुल्य प्राप्तिको सुनिश्चितताको लागि कृषि र पशु विमा कार्यक्रमलाई लागु गर्दै लैजाने नीति लिएको छ ।
माण्डवी गाउँपालिकामा कृषि तथा पशुपालनको प्रचुर सम्भावनालाई मध्यनजर गर्दै सम्भाव्यता हेरी एक वडा एक उत्पादन कार्यक्रम संचालन गर्ने नीति तथा कार्यक्रम रहेको छ । उत्पादित बस्तुको बजार प्रबद्र्धनका लागि प्रदेश सरकार समेतको सहयोगमा कोशेली घरको स्थापना गरिने छ ।
शैक्षिक गुणस्तर सुधारमा जोड
पालिकाको शैक्षिक गुणस्तर सुधारका लागि निरन्तर विद्यार्थी मुल्यांङकन, शौक्षिक सामाग्री तथा भौतिक सुविधाको विस्तार र शिक्षकहरुलाई पुर्नताजगी तालिम उपलब्ध गराउने, प्रत्येक वडालाई साक्षर वडा घोषणा गर्नका लागि साक्षर अभियान संचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
एम्बुलेन्स सञ्चालन
कोभिड–१९ रोग तथा अन्य संक्रमण र विपद्मा समेत आवश्यक देखिएकाले आगामि आ.वमा गाउँपालिकाले एम्बुलेन्स खरिद गर्ने नीति लिएको छ ।.स्वास्थ्य क्षेत्रबाट प्रदान गरिने खोप ,सुरक्षित मातृत्व ,प्रजनन स्वास्थ्य,पोषण जस्ता जनस्वास्थ्यसँग सम्बन्धित आधारभुत सेवा सुविधालाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालनमा उत्प्रेरित गर्नका लागि मासिक प्रोत्साहन भत्ता तथा बैठकमा आउदा खाजा÷खाना भत्ताको व्यबस्था गर्ने भएको छ ।
नीति तथा कार्यक्रमको आधारमा बजेट विनियोजन गरिने अध्यक्ष श्रीधर रोकाले बताउनुभयो ।
