> स्थानीय सरकार > किसानलाई प्यूठान नगरपालिकाले दुधमा अनुदान दिन्छ


किसानलाई प्यूठान नगरपालिकाले दुधमा अनुदान दिन्छ

प्यूठान । नगरपालिकाले किसानहरुलाई दुधमा अनुदान प्रदान गर्दै आएको छ । तोकीएको संकलन केन्द्रमा दुध विक्रि गर्ने किसानहरुलाई प्रति लिटर १० रुपैंया उत्पादनमा आधारित रहेर अनुदान वितरण गर्ने गरिएको नगरपालिकाका पशुसेवा शाखा प्रमुख अधिकृत गिरिराज पौडेलले बताउनुभयो ।

 

चालु आर्थिक वर्षको हालसम्ममा ७१ हजार २० लिटर दुध संकलन गरि विक्रि गरेका किसानहरुले ७ लाख १० हजार २ सय रुपैंया अनुदान प्राप्त गरेको उहाँले बताउनुभयो । अनुदान वापतको रकम सिधा कृषकको बैंक खातामा प्रदान गरिन्छ ।

 

नगरपालिकाले दुध संकलनका लागि विभिन्न सहकारीहरुलाई जिम्मेवारी दिने गरेको छ । बजारोन्मुख नगर क्षेत्र भएकाले संकलन गरिएको दुध बजार क्षेत्रमा पठाउने गरिएको शिवालय दुध संकलन सहकारी खैराका अध्यक्ष भोजबहादुर बस्नेतले बताउनुभयो । ‘जुम्रिमा रहेको डेरी पसलमा संकलन भएको दुध विक्रि गर्छाै ।’ ,उहाँले भन्नुभयो, ‘प्रशासनिक खर्चका लागि प्रति लिटर ५ रुपैंया व्यवसायीसँग लिने गरेका छौं ।’

 

थप संकलन केन्द्रहरु विस्तार गरि दुरदराजका किसानहरु समेत लाभाविन्त हुने गरि संकलन केन्द्र विस्तार गर्ने योजना पालिकाले अघि सारेको छ । वडा नं. ७ पुण्यखोलामा नगरपालिकाले ५० प्रतिशत लागत साझेदारी अनुसार ५० हजार लगानीमा संकलन केन्द्र स्थापना गर्न लागिएको प्यूठान नगरपालिकाले जनाएको छ ।