> आर्थिक/बिकास > स्वर्गद्वारी नगरपालिका भित्र गौरवका ११ योजना


स्वर्गद्वारी नगरपालिका भित्र गौरवका ११ योजना

प्यूठान, १० असार । स्वर्गद्वारी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५८ करोड ६० लाख ३३ हजार ४ सय ५९ रुपियाँको बजेट ल्याएको छ । आज सम्पन्न नगरसभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सहित बजेट ल्याएको हो । संघीय सरकार, प्रदेश सरकारबाट प्राप्त र पालिकाको आन्तरिक श्रोत गरेर नयाँ बजेट ल्याएको हो ।

गौरवका ११ योजना
बजेटले स्वर्गद्वारी भित्रका ११ वटा योजनालाई गौरवका योजनाको रुपमा लिएको छ । स्वर्गद्वारी आश्रम परिक्रमा मार्ग, सूचना प्रविधियुक्त पार्क, खेलकुद मैदान, शान्तिपार्क, चाल्नेटार विमानस्थल, नगरपालिकाको प्रशासनिक भवनलाई गौरवको योजनाको रुपमा नगरपालिकाले लिएको छ ।

त्यसैगरी, स्वर्गद्वारी केवलकार, लुंग्री माडी सिंचाई आयोजना, सुकसुके शिलापार्क, कालिका पार्क, प्राकृतिक भू–बनोट दृश्यलाई गौरवको योजनाको रुपमा समेटिएको छ । उक्त आयोजना निर्माणका लागि गुरु योजना तयार गरि प्रदेश, केन्द्र सरकार तथा नीजि क्षेत्रसँग सहकार्य र समन्वय गरि सञ्चालन गरिने उल्लेख छ ।

नगरप्रमुख कृषि आत्मनिर्भर कार्यक्रम
स्वर्गद्धारी नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन नगर प्रमुख कृषि आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्थानीय स्रोतको उपयोगिता र विस्तारमा जोड दिने नगरसभाले नीति लिएको छ ।

एक घर एक धारा, मुहान संरक्षण गर्न पोखरी
नगरसभाले नगरपालिका भित्र सञ्चालनमा रहेको एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । त्यसको साथै पानीका मुहान एवं स्रोत संरक्षणका लागि विशेष अभियान सञ्चालन गरि एक वडा एक रिचार्ज पोखरी निर्माण गर्ने भएको छ ।

हिंसा पीडितका लागि आपतकालिन उद्धार केन्द्र
नगरपालिकाले लैंगिक हिंसामुक्त नगर बनाउन प्रर्वद्धनात्मक, उपचारात्मक र निरोधात्मक उपाय अवलम्वन गर्ने नीति लिएको छ । त्यसको साथै हिंसा पीडितका लागि आपतकालिन उद्धारका लागि आपतकालिन उद्धार केन्द्र स्थापना गर्ने भएको छ । महिलालाई रोजगारीमा प्राथमिकता दिने र महिलाको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।

आपतकालिन बाल उद्धार कोष
स्वर्गद्वारी नगरपालिकाले अनाथ तथा असहाय बालबालिकाको लागि आपतकालिन बाल उद्धार कोषको स्थापना गर्ने भएको छ । नगर तथा वडा स्तरमा बाल क्लव, बाल सञ्जाल र बाल संरक्षण समितिलाई सक्रिय बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ । युवा वर्गलाई लक्षित गरि सिपमुलक तालिम सञ्चालन गर्दै स्वरोजगारको व्यवस्था गरिने नीति तथा कार्यक्रम रहेको छ ।

नगरसभाले कोरोना लगायत अन्य महामारीबाट जोगिनका लागि पूर्व सावधानी र रोकथाम तथा नियन्त्रणका लागि समेत कदम चाल्ने नीति अघि सारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *