> समाज > माण्डवीमा पीसीआर परीक्षणलाई प्राथमिकता


माण्डवीमा पीसीआर परीक्षणलाई प्राथमिकता

प्यूठान, ३२ जेठ । माण्डवी गाउँपालिकामा कोरोना संक्रमतिको संख्या बढ्दै जाँदा पालिकाले परीक्षणको दायरा बढाउन थालेको छ । पछिल्लो समय पालिकामा संक्रमति व्यक्ति १७ जना पुगेका छन् । जसमध्ये १ जना प्यूठान नगरपालिकाको र एक जना गढवा गाउँपालिका दाङका व्यक्ति रहेका छन् । उनीहरु दुई जनालाई सम्वन्धित पालिकामा पठाउने तयारी पालिकाले गरेको छ । अहिलेसम्म उनीहरुलाई पालिकाकै आइसोलुसन कक्षमा राखिएको गाउँपालिका अध्यक्ष श्रीधर रोकाले जानकारी दिनुभयो ।

अध्यक्ष रोकाले माण्डवी गाउँपालिकाले पीसीआर परीक्षणलाई प्राथमिकता दिँदै हालसम्म करिव चार सय जनाको पीसीआर विधिबाट परीक्षण गरिएको बताउनुभयो । शुरुको अवस्थामा सवैको पीसीआर गर्नु असम्भव भएकै हो, उहाँले भन्नुभएको छ, यो समस्या हाम्रो गाउँपालिका, जिल्लामा मात्रै होइन देशकै समस्या थियो । पीसीआर परीक्षणका लागि पालिकाले आठ सय पिस किट खरिद गरेको र सोही अनुसार जाँच भैरहेको प्रष्ट पार्नुभएको छ ।

पछिल्लो समय भारतबाट एक हजार ३७ जना व्यक्ति पालिकामा आएको र जसमध्ये आठ सय चार जना क्वारेन्टाइन अवधि पुरा गरि परीक्षण पश्चात होम क्वारेन्टाइनमा बस्ने गरि पठाइएको अध्यक्ष रोकाले जानकारी दिनुभयो । आरडीटी र पीसीआर नेगेटिभ नतिजा आएकालाई घर पठाइएको उहाँको भनाई छ ।

आइसोलुसन कक्षमा बसेका व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको नियमित रुपमा निगरानी गरिराखिएको अध्यक्ष रोकाले बताउनुभएको छ । हाल क्वारेन्टाइनमा दुई सय १६ जना व्यक्ति रहेका छन् । अझै आउने क्रम जारी रहेको समेत अध्यक्ष रोकाले बताउनुभएको छ ।

उहाँले संकटको घडीमा सवै राजनीतिक दल, संघ संस्था, उद्योगी, व्यापारी, समाजसेवी, बुद्धिजिवी लगायत माण्डवीवासीलाई एक जुट भएर कोरोन विरुद्धको लडाईमा हातोमालो गरेर अघि बढ्न अपिल समेत गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *