> समाज > प्यूठान प्रहरीलाई एन ९५ मास्क प्रदान


प्यूठान प्रहरीलाई एन ९५ मास्क प्रदान

प्यूठान । जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष एवं न्यु कक्षपति टेड्रस प्युठान नगरपालिका वडा नं ८ बाग्दुलाका सञ्चालक केदारमान कक्षपतिले आफ्नो व्यक्तिगत लगानीमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीलाई एक सय थान एन ९५ मास्क प्रदान गर्नुभएको छ ।

उहाँले आज जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नरेन्द्रकुमार कार्कीलाई मास्क प्रदान गरेको बताउनुभयो । कोरोना संक्रमणका कारण सरकारले गरेको लकडाउनका समयमा भारतबाट जिल्लामा आउने व्यक्तिहरुको संख्या बढेको छ । यो समयमा फ्रन्टलाईनमा रहेर जिल्लाका विभिन्न स्थानमा खटिएका प्रहरीका लागि मास्क प्रदान गरेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो ‘जिल्लाका सबै ठाउँमा पुग्नका लागि असहज हुने भएकोले कार्यालय मार्फत फ्रन्टलाईन खटिने प्रहरीलाई मास्क वितरण गरिदिनुहोला ।’ उहाँले आगामी दिनमा समेत प्रहरीलाई सहयोग गर्दै जाने बताउनुभयो ।

मास्क ग्रहण गर्दै प्रहरी प्रमुख कार्कीले व्यक्तिगत लगानीमा मास्क सहयोग गरेकोमा धन्यवाद सहित खुसी व्यक्त गर्नुभयो । मास्क जिल्लाका विभिन्न स्थानमा फ्रन्टलाईनमा खटिएका प्रहरीलाई वितरण गरिने उहाँले बताउनुभयो ।उहाँले भन्नुभयो,– ‘ मास्कले सुरक्षाकर्मीहरुको मनोवल बढ्ने छ ।’
दैनिक सुरक्षाका लागि खट्ने प्रहरीले पनि समुदायकै सुरक्षाका लागि काम गर्दा समुदायले हामीलाई सहयोग गर्नुहुदो रहेछ भन्ने आभास हुने प्रहरी प्रमुख कार्कीले बताउनुभयो । आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको कार्कीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!