> आर्थिक/बिकास > विकास निर्माणका योजना अन्यौलमा


विकास निर्माणका योजना अन्यौलमा

प्यूठान, २ जेठ ।
कोरोना संक्रमणका बीच जिल्लामा शुरु भएका विकास निर्माणका योजना पुनः अन्यौलमा परेको छ । सरकारले लकडाउनलाई थप कडाई गर्दै अन्तर जिल्ला आवागमनलाई कडा गरेपछि मजदुर अभाव लगायत समस्याले गर्दा शुरु भएका निर्माणका काम अन्यौलमा परेका हुन् ।

“हामीलाई त फेरी समस्या भयो”, निर्माण व्यवसायी संघ प्यूठानका अध्यक्ष पशुपती नारायण नकर्मीले भन्नुभयो, “कामदार, निर्माण सामाग्री र आर्थिक जस्ता समस्याले योजना निर्माण अगाडी वढाउन समस्या छ ।” कोरोना संक्रमणको दर वढ्दै गर्दा सरकारले गरेको अन्तरजिल्ला आवतजावत कडाईका कारण छड, सिमेन्ट, इटा लगाएत अत्यावश्यक सामाग्रिहरु ढुवानीमा समेत समस्या रहेको उहाँले बताउनुभयो ।

निर्माण कार्य संचालन गर्ने सरकारको निर्णय अनुसार जिल्लामा कतिपय योजनाहरुको निर्माण कार्य थालनि गरिएको छ । कतिपय योजनाहरु निर्माण कार्यान्वयनको चरणमा छन् । तर दक्ष कामदार तथा निर्माण सामाग्री अभावले योजना सम्पन्न गर्न समस्या रहेको निर्माण व्यवसाहिहरु बताउँछन् । अहिलेको अवस्थामा निर्माण कार्यलाई अगाडी बढाउन नसकिने निर्माण व्यवसायि बालाजु श्रेष्ठ बताउनुहुन्छ । केहि सडक निर्माणका कामहरु सुचारु गर्न सके पनि अन्य निर्माण कार्यहरु संचालनमा समस्या रहेको उहाँको भनाई छ ।

“दक्ष कामदार देखि निर्माण सामाग्रीहरु सवै बाहिरवाट ल्याउनु पर्ने हुन्छ” निर्माण व्यवसायि श्रेष्ठले भन्नुभयो, “आवागमननै वन्द भए पछि कसरी निर्माण कार्य अगाडी बढाउने ?” लगडाउन विचमै संचालन भएको झिमरुक नदि नियन्त्रणको काममा समेत कामदारको अभाव रहेको उहाँले बताउनुभयो । “एकातर्फ आवागमनमा कडाई अर्को तर्फ कोरोना संक्रमणको त्रास सवै कुराले निर्माण कार्यमा समस्या भएको छ”, उहाँले भन्नुभयो । ढाड–तुषारा जोड्ने पक्की पुल, झिमरुक गाउँपालिकाको प्रशासनिक भवन संगै निर्माण कम्पनीको जिम्मामा रहेका कतिपय सडकहरुको कामहरु संचालन गर्न नसकेको उहाँले बताउनुभयो ।

लगडाउनसंगै विकास निर्माणका योजनाहरु संचालन भएपनि योजना निर्माणका लागि ठोस योजना नहुँदा निर्माण कार्यमा अवरोध आएको नेपाल पत्रकार महासंघ प्यूठानका सचिव विजयसिंह भारती बताउनुहुन्छ । “जिल्लामा ठोस योजना छैन । कामदार, निर्माण सामाग्री जस्ता अत्यावश्यक सामाग्रीहरुको आपूर्तिलाई मध्यनजर गर्दै विकास निर्माणको ठोस खाका अगाडी ल्याउन आवश्यक छ” उहाँले भन्नुभयो ।

संघ प्रदेश तथा स्थानीय तह अन्तरगत दर्जनौ महत्वका योजनाहरु छन् । भवन, पक्की पुल, सडक, सिंचाई, खानेपानी, तटवन्ध लगाएतका योजनाको निर्माण प्रभावित बनेको छ । अधिकांश निर्माण सामाग्रीहरु छिमेकी जिल्ला दाङ,कपिलवस्तु तथा रुपन्देहीवाट आयत गर्ने गरिन्छ । तर कपिलवस्तु र रुपन्देहीमा समेत कोरोना संक्रमण पोजेटीभ पाईएपछि जिल्ला छिर्ने नाकाहरुमा थप सतर्कतासंगै कडाई गरिएको छ ।

आजको आर्थिक कारोवार दैनिकमा समेत प्रकाशित । तस्विर ः फाईल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *