> राष्ट्रिय > चेपाङलाई दिइएको राहतमा ठगी


चेपाङलाई दिइएको राहतमा ठगी

चितवन, १ जेठ । चितवनको कालिका नगरपालिका–९ शेरवासका चेपाङलाई दिइएको राहतमा ठगी भएको पाइएको छ । कालिका नगरपालिकाले राहत दिँदा ठगेको पाइएको हो ।

सरकारले ५ जनासम्मको परिवारलाई १० किलो र सो भन्दा माथिको परिवारलाई २० किलो चामल र २ किलो नुन, २ किलो दाल लगायतका सामान दिने बताएको थियो । तर पनि कालिका नगरपालिकाबाट वितरण भएको राहत आफूले १० किलो मात्र पाएको स्थानीय रामचन्द्र चेपाङले बताउनुभयो ।

खै कति दियो थाहा भएन, १० किलो चामल, आधा पाकेट नुन र १ किलो दाल पाएको हुँ, रामचन्द्रले दुखेसो पोख्नुभयो । कोरोना भाइरसको महामारी पछि लकडाउनको समयमा कोही जनप्रतिनिधिहरु पनि गाउँमा नआई पुगेको र सो राहत पनि आफ्नो ज्वाइँ पूर्ण बहादुर चेपाङले ल्याई दिएको रामचन्द्र चेपाङले बताउनुभयो ।

राहत बाँडेको पनि थाहै पाइएन, उहाँले भन्नुभयो, ७ जनाको परिवार छौँ, आफ्नो खेतीले ३–४ महिनामात्र खान पुग्दछ, सधैँ हामी ज्याला मजदुरी गरेर खाने गर्दथ्यौँ । अहिले ज्याला मजदुरी पनि गर्ने ठाउँ छैन, उहाँले भन्नुभयो, ज्वाई मार्फत् पाएको चामल त अस्ति नै सकिईसक्यो, कसरी परिवार पाल्ने हो ?

शेरवास बस्तीमा १८ घरधुरी रहेको र त्यहाँका सबै विपन्नलाई राहत वितरण गरिसकेको वडा अध्यक्ष हेम बहादुर क्षेत्रीले दावी गर्नुभयो । यस अघि पनि कालिका नगरपालिकाले १० र ११ वडाको सिद्धि क्षेत्रका चेपाङ वस्तीमा राहत वितरणमा ठगी गरेको स्थानीयले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *