प्यूठान । नेपाल प्रहरी श्रीमती संघको आयोजनामा प्यूठानमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । शिविरमा लुम्बिनी प्रदेश प्रहरी अस्पताल बाँके नेपालगञ्जका प्रमुख डा. अच्युत बिक्रम हमाल सहितको चिकित्सक टोलीले विरामीको चेकजाँच, उपचार र परामर्श सेवा उपलब्ध गराएका छन् ।
प्यूठानको विजुवार पुण्यखोला स्थिति स्वर्गद्वारी बहुमुखी क्याम्पसका संचालन भएको शिविरको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक भुपेन्द्र बहादुर खत्रीले एक समारोह वीच उद्घाटन गर्नुभयो । सुगम र शहरी क्षेत्रमा मात्र नभई दुरदुराजका क्षेत्रमा समेत यस्ता विशेष सहितको स्वास्थ्य शिविर संचालन गर्ने उनले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
रोगको पहिचान, निदान र परामर्शका लागि यस प्रकारका स्वास्थ्य शिविरले सहयोग पुग्ने प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीले बताउनुभयो । ‘आर्थिक, भुगोल वा जनशक्तिका हिसावले समयमै रोगको पहिचान गर्न नसक्दा थुप्रै जटिलता आउने गरेका छन् ।’ ,उहाँले भन्नुभयो, `विशेषज्ञ सेवा सहितको घरआगँनको सेवाले उपचारमा टेवा पुग्नेछ ।’
दैनिक व्यस्त जीवनका कारण सबै समयमै उपचार नगर्ने बानी रहेकोले यस्ता शिविरले नियमित चेकजाँचका लागि सन्देश समेत दिने प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईले बताउनुभयो । ‘जटिल अवस्थामा मात्र अस्पताल जाने बानी छ ।’ ,उहाँले भन्नुभयो, `यसलाई सुधार गरि सबैले नियमित स्वास्थ्य जाँच गर्नुपर्छ ।’
स्वस्थ नागरिक, परिवार र समाज निर्माणका लागि स्वास्थ्य शिविरले टेवा पुर्याउने प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरहरी आचार्यले बताउनुभयो । ‘नेपाल प्रहरी केवल कानुन कार्यान्वयन गराउने संस्थाका रुपमा मात्र नभई सबैको स्वस्थ्य प्रति समेत सधै उत्तरदायी र सम्वेदनशिल रहेको सन्देश दिएको छ ।’ ,उहाँले उल्लेख गर्नुभयो ।
शिविरमा अमर प्रहरीका परिवार, पूर्व प्रहरीका परिवारका साथै सर्वसाधारणले सेवा लिएका छन् । शिविरमा विजुवार स्थित निमतारा पोलिक्लिनिकले निःशुल्क ल्याव सेवा प्रदान गरेको थियो । शिविरको अवसरमा निःशुल्क ल्याव सेवा प्रदान गर्ने पोलिक्लिनिक र स्थान उपलब्ध गराउने स्वर्गद्धारी बहुमुखी क्याम्पसलाई सम्मान समेत गरिएको थियो ।









