सुजल श्रेष्ठ
प्यूठान । बैंक तथा वित्तिय संस्थाहरुले बढाएको ब्याज र राष्ट्र बैैंकले जारी गरेको चालु पुँजी कर्जा निर्देशिका विरुद्ध जिल्लाका व्यवसायीले निरन्तर आन्दोलन गरिरहेका छन् ।
राष्ट्र बैंकको निर्देशिकाले उद्यमी व्यवसायी मर्कामा परेको भन्दै उक्त अव्यवहारीक नीति विरुद्ध हस्ताक्षर सङ्कलन गरिरहेका व्यवासायीले आज सदरमुकाम खलंगामा विरोध र्याली र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।
पुस १५ देखि २१ गतेसम्म नौ वटै बजार इलाबाट हस्ताक्षर सङ्कलन गर्ने कार्य समेत जारी रहेको कार्यबाहक अध्यक्ष प्रमोद पोख्रेलले बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशको पुस १३ गतेको निणर्य अनुसार विरोधका कार्यक्रम जारी राखेको समेत उहाँले जानकारी दिनुभयो ।
राष्ट्र बैंकको निर्देशिकाले ओभरड्राफ्ट कर्जालाई मान्यता नदिएको, ६ महिना अघि सम्झौता भएको ब्याजदर १५/१६ प्रतिशतसम्म पुग्न गएकाले व्यवसायी अत्तालिने अवस्था आएको महासंघको भनाई छ । उक्त निर्देशिका खारेज गरी उद्योग व्यवसाय सञ्चालन गर्न सहज वातावरण बनाउन माग गर्दै व्यवसायी आन्दोलित छन् ।
