राष्ट्रियसमाजस्थानीय सरकार

गर्भवती महिलाका लागि निशुल्क भिडियो एक्सरे सेवा

सागर रिजाल
प्युठान, २ भदौ । प्युठानको ऐरावती गाउँपालिका वडा नं २ स्थित पुरन्ठाटी स्वास्थ्य चौकी बरौलामा गर्भवती महिलाहरुका लागि निशल्क भिडियो एक्सरे सेवा सुरु गरिएको छ ।


लुम्बिनी प्रदेश सरकारबाट अल्टासाउण्ड लगाएतका उपकरणहरु सहयोग भएपछि उक्त सेवा सञ्चालनमा ल्याईएको हो । गाउँपालिकाका अध्यक्ष नविलबिक्रम शाहले रिबन काटेर आज निशुल्क भिडियो एक्सरेको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन गर्दै शाहले पालिकाका धुवाङ्ग र पुरन्ठाटी स्वास्थ्य चौकीबाट यो सेवा प्रारम्भ गरेको बताउनुभयो । पुरन्ठाटी स्वास्थ्य संस्था केही समय पहिलेदेखी यो सेवा सुरु भएपनि शुल्क तिरेर सेवा लिनुपर्दथ्यो, अध्यक्ष शाहले भन्नुभयो,‘प्रदेश सरकारबाट अनुदान आएकाले अब गर्भवती महिलाले निशुल्क रुपमा सेवा लिन सक्नुहुनेछ ।’

पुरन्ठाटी स्वास्थ्य चौकीमा १५ बेडको अस्पताल निर्माणका लागि प्रक्रिया समेत अगाडी बढाईएको अध्यक्ष शाहले बताउनुभयो ।

त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले गर्भवती महिलाहरुका लागि निशुल्क भिडियो एक्सरे सेवा सञ्चालन भएपछि टाढा गएर सेवा लिनुपर्ने बाध्यता हटेको बताउनुभयो ।

यस क्षेत्रका महिलाहरुलाई यो परिक्षण पालिकामै होस भन्ने उदेश्यले निशुल्क भिडियो एक्सरे सेवा सञ्चालन गरिएको उहाँको भनाई छ । निशुल्क रुपमा यो सेवा सञ्चालनमा आएपछि आर्थिक हिसाबले पनि सुःखदायी भएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउनुभयो । यो सेवा प्रभावकारी हुने विश्वास लिएको समेत उहाँले बताउनुभयो ।

पुरन्ठाटी स्वास्थ्य चौकीका प्रमुख बसन्ता के.सी.ले गर्भावस्थामा बच्चा र आमामा हुने जटिलता पत्ता लगाई आमा र बच्चाको ज्यान बचाउने र आवश्यक व्यवस्थापन गर्ने उदेश्यले भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याईएको बताउनुभयो ।


यस सेवा मार्फत प्रत्येक गर्भवती महिलाले कम्तीमा तीन पटक (४,६र ९ महिनामा) भिडियो एक्सरे (युएसजी) सेवा पाउने समेत उहाँले बताउनुभयो ।

निशुल्क भिडियो एक्सरे सेवाको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष शाह, प्रमुख प्रशासकीय अधिकृत भण्डारी, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं २ का वडाअध्यक्ष भिमेसकुमार घर्तीमगर, व्यवस्थापन समितिका सदस्यहरु र स्वास्थ्य संस्थाका कर्मचारी लगाएतको उपस्थिती रहेको थियो ।

Related Articles

Back to top button