> आर्थिक/बिकास > बदेल र बादरले अन्नबाली खाएपछि अदुवा, पिडालु र बेसार खेती गरिदै


बदेल र बादरले अन्नबाली खाएपछि अदुवा, पिडालु र बेसार खेती गरिदै

प्यूठान, ३० बैशाख । दाङको घोराही उपमहानगरपालिका–१ तेर्छेगाउँमा बदेल र बादरले अन्नबाली खाएपछि खेती गर्न छाडिएको जग्गामा अदुवा, पिडालु र बेसार खेती शुरु गरिएको छ ।

पहाडी भिरालो बस्तिका अधिकांस मानिस आफ्नो जीवनयापनका लागि पुरानो बस्ति तेर्छेगाउँलाई छोडेर तराइमा झरेका छन । शुरुमा तेर्छेगाउँमा २० घरपरिवारको भन्दा बढीको बस्ति थियो । उनीहरुले आफूलाई चाहिने अन्नपातको खेतीपाति पनि गर्दथे तर रातीमा जंगली जनावर बदेल र बादरले उक्त खेती खाइदिएपछि गाउँलेहरुले खेती स्याहार्नै पाएनन ।

परिवार जाड्नका लागि तेर्छेगाउँका अधिकांस युवा र पुरुषहरु रोजगारीका लागि भारत सहित तेस्रो मूलक जाने र कमाएको पैसाले परिवार पाल्ने र बचेको पैसाले तराइमा घर घडेरी र जग्गा समेत जोडे । जसका कारण तेर्छेगाउँका आधा भन्दा धेरैको रामपुर, साहीपुर, कालिमाटी र वरपरको तराइका गाउँमा बसोबास गर्दछ । उनीहरुको तेर्छेगाउँमा रहेको जग्गा बाझै थियो । उक्त बाझो जग्गामा अहिले बेसार, अदुवा र पिडालु खेती शुरु गरिएको छ ।

स्थानीय टेकन भण्डारी र बसन्त भण्डारीले गाउँकाले खेती गर्न छाडेका करिव ५ बिगाह जग्गामा बेसार, पिडालु र अदुवा खेती गर्न शुरु गर्नु भएको छ । ‘यो बर्षे पाँच बिगाहमा खेती गरेका छौ’, स्थानीय टेकन भण्डारीले भन्नुभयो,‘आगामी बर्षमा हामीले गाउँमा कुनैपनि जमिन बाझो राख्दैनौ सवैमा खेती गर्छौ ।’ तेर्छेगाउँमा अहिले पनि ८ घरपरिवारको बसोबास छ । त्यहा करिव १० बिगाहजति जग्गामा खेती गर्न बाँकी छ ।

लकडाउन भएपछि रोजगारीका लागि भारत गएका युवाहरु गएको चैत महिनमा घर फर्किका छन । लकडाउन कहिलेसम्म रहन्छ भन्ने अन्यौलता एकातिर छ भने अर्कोतिर लकडाउन सकिएपनि भारतमा तत्काल पुरानै रोजगारी पाइन्छ भन्नेमा गाउँमा फर्केका युवाहरु विश्वस्त नभएको बताउछन । ‘लकडाउन कहिले सकिने हो थाह छैन, सकिएपनि तत्काल भारतजाने अवस्था छैन’, तेर्छेगाउँका सचिन खत्रीले भन्नुभयो, ‘अव गाउँमा गोठ बनाउने हो ब्यावसायिक बाख्रा पालन गरेर बस्ने हो ।’

भारतबाट फर्केका सहित स्थानीय १५ जनालाई दैनिक खाना खाएर ६ सय रुपैया पारिश्रमिक दिएर अदुवा, बेसार र पिडालु खेतीमा लगाइएको टेकन भण्डारीले बताउनुभयो । यो बर्ष भण्डारीले उक्त स्थानमा ६ क्वीन्टल बेसार खेती गरिसक्नु भएको छ । तेर्छेगाउँमा ब्यावसीयक अदुवा, बेसार र पिडालु खेती गर्ने योजनामा रहेको भण्डारीले बताउनुभयो ।

युवाहरुले त्यहा रहेको सिस्नोको सागलाई जम्मा गरेर सिस्नोको धुलो समेत बनाइरहेका छन । बजारमा सिस्नोको धुलोको समेत माग धेरै हुने गरेको आफूहरुले सुनेपछि सिस्नो संकलन गरी धुलो बनाउने काम समेत थालिएको भण्डारीले बताउनुभयो ।

अदुवा, बेसार र पिडालुको बजारीकरण सहकारीले गरिदिने
तेर्छेगाउँमा उत्पादन हुने अर्गानिक अदुवा, बेसार, पिडालु र सिस्नोको धुलोको बजारीकरण दाङको घोराही स्थित सर्वोत्तम बहुउद्धेश्यीय सहकारी संस्थाले सहयोग गर्ने भएको छ ।

सर्वोत्तम सहकारी संस्थाले सञ्चालन गर्न लागेको सहकारी सहुलियत बजार मार्फत उपभोक्ताहरुलाई अदुवा, बेसार, पिडालु र सिस्नोको धुलो उपभोक्ताहरुलाई दिने योजनामा रहेको संस्थाका अध्यक्ष ध्रुवराज पौडेलले बताउनुभयो ।
भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. ५ को पचास प्रतिशत अनुदान र सहकारीको ५० प्रतिशत लागतमा सञ्चालन गर्न लागिएको बजारमा तेर्छेगाउँमा उत्पादन हुने बेसार,अदुवा, पिडालु र सिस्नोको धुलो लगेर बेचबिखन गर्ने योजनामा संस्थाले काम गरिएको अध्यक्ष पौडेलको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!