प्यूठान । काम गर्ने क्रममा राजनीतिक दलको आस्थाको आधारमा नभई आफ्नो जिल्ला सम्झेर काम गर्ने गरेको लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा)ले बताउनुभएको छ । सबैलाई साथमा लिएर आवश्यकताका आधारमा काम गर्ने उहाँको भनाई थियो ।
‘दलमा जोडिएकोले भनेको मान्दैन की भन्ने यहाँलाई लाग्न सक्छ ।’ ,उहाँले भन्नुभयो, ‘कृपया मलाई त्यस्तो नसोच्नु होला । म सबैलाई साथमा साथ मिलाएर काम गर्न चाहन्छु ।’ आवश्यकताका सबै विषय थाहा नहुने भएकाले बजेट निर्माणको समयमा स्मरण गराउन उहाँले आग्रह गर्नुभयो ।
भानुभक्त माध्यमिक विद्यालय बर्बाेट प्यूठानको स्वर्ण महोत्सव उद्घाटन गर्दै उहाँले बिद्यार्थीहरुलाई रुचि र क्षमताका आधारमा शिक्षण सिकाई गर्नुपर्नेमा जोड दिनुभयो । ‘सबै विद्यार्थीमा समान क्षमता नहुन सक्छ ।’ ,उहाँले भन्नुभयो, ‘क्षमता अनुसारका सिक्नका लागि शिक्षकको महत्वपूर्ण भूमिका रहन्छ ।’
स्वर्ण महोत्सवको अवसरमा विद्यालयका आगामी कार्यक्रम बारे बताउँदै विद्यालयका प्रधानाध्यापक चक्रपाणि पौडेलले विज्ञद्धारा विद्यार्थी–अभिभावक शिक्षा संचालन गर्ने, सिकाईलाई प्रविधिमैत्री बनाउने, स्कुल बस संचालन गर्ने, सिसिटिभि जडान गर्ने, नविनतम विषयहरु संचालन गर्ने उल्लेख गर्नुभयो ।
महोत्सव समुद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरमबहादुर जिसी, मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण खड्का, उपाध्यक्ष रमेश कुमार श्रेष्ठ, प्यूठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्मा, ऐरावती गाउँपालिकाका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीबलाल खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडाध्यक्ष नोमराज पौडेलले गर्नुभएको थियो ।
विविध कार्यक्रमका साथ मनाइने स्वर्ण महोत्सव तीन दिनसम्म चल्नेछ ।
