राष्ट्रिय

अहिलेको सरकारलाई पूर्ण समर्थन छ, चुनावमा भाग लिन्छौं : नेकपा नेता गौतम

प्यूठान । आगामी फागुन २१ गते हुने निर्वाचनपछि नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा बहुमतको सरकार बन्ने पार्टीका नेता बामदेव गौतमले दाबी गर्नुभएको छ । बिहिबार प्यूठानको जुम्रिमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले अहिलेको सरकारलाई आफ्नो पार्टीको पूर्ण समर्थन रहेको उल्लेख गर्नुभयो ।

 

‘जेनजी आन्दोलन पछि उत्पन्न परिस्थ्तििलाई राजनीतिक निकास दिन हाम्रा नेताहरु प्रचण्ड र माधव नेपालले भुमिका खेल्नुभयो ।’ ,उहाँले भन्नुभयो, ‘सुशीला कार्की, राष्ट्रपति र जेनजीका प्रतिनिधिहरुको संलग्नतामा अहिलेको सरकार बनेको हो ।’ अव हुने निर्वाचनलाई ‘महानिर्वाचन’ भन्दै उहाँले सक्रियता पुर्वक सहभागी हुने र बहुमत प्राप्त गर्ने दावी गर्नुभयो ।

 

नेकपा नेतृत्वको सरकारले सबै राजनीतिक दलसँग मिलेर लोकतान्त्रिक मुल्य मान्यतामा आधारित समाजवाद ल्याउने उल्लेख गर्नुभयो । राष्ट्रिय पुँजीवाद र बहुदलिय प्रतिष्पर्धाको आधारमा समाजवादी व्यवस्था ल्याउने उहाँको भनाई थियो ।

 

‘तपाई चुनाव लड्न फेरी प्यूठान आउन लाग्नु भएको हो ?’ भन्ने पत्रकारको प्रश्नमा उहाँले अहिले आफु चुनावका लागि नभई कम्युनिष्ट पार्टी वीचको एकता सन्देश प्रवाह गर्न प्यूठान आएको उल्लेख गर्नुभयो । ‘कम्युनिष्ट पार्टीहरु वीचको एकता जेनजी आन्दोलनकै कारण विकसित भएको हो ।’ ,उहाँले भन्नुभयो, ‘अव युवा पुस्ताले नेतृत्व गर्ने हो, ७० काँटेका नेताहरुको अनुभवलाई अभिभावकिय भुमिकाको रुपमा उपयोग गर्ने हो ।’

 

तत्कालिन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारका कारण २३ गतेको जेनजी आन्दोलनमा युवाहरुले ज्यान गुमाएको र २४ गते विध्वंसको दिशामा अघि बढेको उहाँको आरोप थियो ।

Related Articles

Back to top button