> आर्थिक/बिकास > बैशाख महिनाको पारिश्रमिक पाइन्छ की ?


बैशाख महिनाको पारिश्रमिक पाइन्छ की ?

लक डाउनले डेढ महिना भेट्दै गर्दा संगठित क्षेत्रका श्रमिकहरु समेत समस्यामा पर्न थालेको गुनासो गरेका छन् । असंगठित क्षेत्रका श्रमिकहरुलाई स्थानीय सरकारहरुले उद्धार तथा राहत उपलब्ध गरायो । तर, संगठित क्षेत्रकै श्रमिकहरु पनि समस्यामा पर्ने हो की भन्ने चिन्तामा छन् ।

लक डाउन कहिलेसम्म जारी रहने हो ? र कसरी खुल्छ भन्ने एकीन छैन । सरकारसँग तत्कालै ठोस योजना पनि छैन । विशेषगरी नीजि क्षेत्रमा कार्यरत श्रमिकहरु बैशाख महिनाको पारिश्रमिक पाइन्छ की, पाईन्दैन भन्ने चिन्तामा छन् ।

‘नीजि क्षेत्रका विभिन्न प्रतिष्ठानहरुमा काम गरेर परिवार चलाउनेहरु समेत समस्यामा पर्ने भएका छन् ।’ ,प्यूठानको एक नीजि क्षेत्रको शैक्षिक संस्थामा कार्यरत शिक्षकले भने, ‘बैशाख महिनाको पारिश्रमिक पाउने÷नपाउने निश्चित छैन ।’

नीजि क्षेत्रमा काम गर्ने एउटा व्यक्तिको भरमा चलेको परिवारमा समस्या पर्न थालेको हो । नीजि क्षेत्रबाट संचालन भएका उद्योग तथा व्यापारिक प्रतिष्ठान, घरेलु उद्योगहरु, होटल तथा रेष्टुरेन्ट, नीजि क्षेत्रका शैक्षिक तथा वित्तिय संस्थामा काम गर्नेहरु मर्कामा परेको गुनासो गरेका छन् ।

व्यवसायीहरु आफ्नो व्यवसायबाट विस्तापित हुनुपर्ने स्थिति आएमा श्रमिकहरुलाई पारिश्रमिक दिन नसकिने होटल व्यवसायी संघका अध्यक्ष गुञ्जबहादुर थापाले बताउनुहुन्छ । ‘सरकारले घरभाडा नलिन अनुरोध गरेपनि कार्यान्वयन भएको छैन, की घरछोड की भाडा दिनु भन्छन् ।’ ,व्यवसाय ठप्प रहेको भन्दै उहाँले भन्नुभयो, ‘आफ्नै घर हुने व्यवसायीहरुलाई पनि बैंकको ऋणको व्याज÷किस्ता बुझाउनु पर्ने अवस्था छ ।’

प्यूठान जिल्लाको हकमा नीजी क्षेत्रका शैक्षिक संस्थाहरु आर्थिक रुपमा अब्बल नभएकाले बन्द भएको परिस्थितिमा पारिश्रमिक दिन सक्ने अवस्थामा नरहेको प्याव्सन जिल्ला उपाध्यक्ष दिपक जि.सी.को बुझाई छ । ‘सरकारले माध्यमिक तहको चैत्र महिनाको शुल्क नदिन भनेको हामीले मानेका छौं, यो कार्यान्वयन हुन्छ ।’ उहाँले भन्नुभयो, ‘चुलो नबोल्ने स्थिति भयो भने सम्वन्धीत संस्था र प्याव्सनबाट सहयोग गर्छाै ।’ के गर्ने भन्ने बारे प्याव्सनले आधिकारिक धारणा अझै नबनाए पनि पारिश्रमिक दिई हाल्ने अवस्थामा नरहेको उहाँको बुझाई थियो ।

व्यवसाय पूर्ण रुपमा बन्द भएको अवस्था र श्रमिकहरुलाई परेको समस्यालाई समाधानका लागि दुई पक्ष बीचको सहमति नै यसको विकल्प भएको प्यूठान उद्योग बाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतीको सुझाव छ । व्यवसायीहरु पारिश्रमिक दिने अवस्थामा नभएको र श्रमिकहरुको चुल्हो बन्द हुने स्थितिमा यो नै उत्तम विकल्प हुने उहाँको धारणा छ ।

‘व्यवसायीहरुका पनि आफ्नै समस्या छन्, घरभाडा, बैंकको किस्ता÷व्याज बुझाउनै पर्ने हुन्छ ।’ ,उहाँले भन्नुभयो, ‘सरकारी नीति भन्दा पनि प्रतिष्ठानका मालिक र मजदुर बीच सहमति गरेर निश्चित पारिश्रमिक दिनुपर्छ ।’
सरकार, उद्योग मन्त्रालय र मजदुर युनियनहरु बीच चैत्र महिनाको पुरा तलव दिने सहमति भए पनि बैशाख महिनाको के गर्ने भन्ने सहमतिमा उल्लेख छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *