श्रीराम भण्डारी
गौमुखी गाउँपालिका प्युठानले बर्ष २०८२ लाई गौमुखी भ्रमण बर्ष २०८२ घाेषणा गरेकाे छ । गाउँपालिका भित्र रहेका पर्यटकिय क्षत्रकाे प्रचारप्रसार गरी बाह्य तथा आन्तरिक पर्यटक मार्फत पालिकाकाे आर्थिक बिकास गर्ने गाउँपालिकाकाे उद्देश्य रहेकाे छ । यस सन्दर्भमा पालिका भित्र रहेका केहि प्रमुख धार्मिक, प्राकृतिक र पर्यटकीय गन्तव्यहरूको संक्षिप्त विवरण यहाँ प्रस्तुत छ :
गौमुखी गुफा :
गौमुखी गुफा प्रमुख धार्मिक स्थल र तीर्थस्थल हो । जहाँबाट झिमरुक नदीको उद्गम हुन्छ । गाईको मुख जस्तो आकार भएको पत्थरबाट पानी आउने दृश्यका कारण यसलाई गौमुखी नाम दिइएको हो ।
धार्मिक विश्वास अनुसार, त्यहाँ स्नान गर्दा मनोकांक्षा पुरा हुने, पाप पखालिने, जोडी नभएकोलाई जोडी मिल्ने, बिरामीलाई निको हुने जस्ता मान्यताहरू छन् ।
माघे संक्रान्ति, औँसी, पूर्णिमाको सन्ध्यामा विशेष स्नान मेला लाग्ने यो एक प्रमुख धार्मिक आकर्षण हो ।
बाइसमूल झरना, नाङ्गी लेक, दुईबहिनी भिर :
गौमुखी आसपासको प्राकृतिक सौन्दर्यता पनि आकर्षक छ । झरना, ताल, दोभिर, जङ्गली वन्यजन्तुले गर्दा वन र रंगीन फूलहरू जस्तै लालीगुराँस , बुकि फुल अन्य घासे मैदान अवलोकन गर्न सकिन्छ ।
तामाखानी :
ऐतिहासिक महत्वको तामाखानी क्षेत्रलाई हाल पर्यटन विकासका लागि तयार पारिँदैछ ।
यहाँ सिँढी, रेलिङ्, सोलार बत्ती लगायतका पूर्वाधार निर्माणले गर्दा आकर्षक देखाएको छ । यहाँ तामाखानी रहेकाे छ । पहिले यहाँकाे तामाबाट विभिन्न भाडाँकुडाँ बनाउने गरिन्थ्याे ।
अर्खा रजवारा झाेलुङ्गे पुल :
पछिल्लो समय अर्खा-रजवार जोड्ने झाेलुङ्गे पुल विशेष आकर्षणकाे केन्द्र बनेकाे छ । जिल्लाकाे लामाे तथा अग्लाे स्थानमा रहेको पुलमा यहाँ अहिले दैनिकजसाे आन्तरिक पर्यटक फाेटाे खिच्ने, टिकटक बनाउने, भिडियो बनाउन ब्यस्त देखिन्छन । यहाँबाट अर्खा, रजवाराको रमणिय दृष्य अबलाेकन गर्न सकिन्छ ।
स्थानीय खानपान कलासंस्कृति :
गाउँपालिका भित्र दैनिक जीवनशैलीसँग जोडिएको विभिन्न खानपान, कलासंस्कृति मुख्य आकर्षण हुन । यहाँ मगर समुदायकाे बाहुल्यता रहेकाे छ । मगर समुदायले मनाउने विभिन्न चाडपर्ब तथा खानपान आकर्षक रहेका छन ।
अर्तुवाङकाे अग्लाे शिव मन्दिर :
लुम्बिनी प्रदेशकै अग्लाे ठुलाे शिबकाे मुर्ति पनि मुख्य गन्तव्य बनेकाे छ । यो गौमुखी गाउँपालिका–१, अर्तुवाङ (अर्खा)को पिपलडाँडामा अवस्थित छ । धार्मिक दृष्टिले महत्त्वपूर्ण स्थानमा रहेको यस मूर्ति प्रदेशकै सबैभन्दा अग्लो शिव मूर्तिको रूपमा स्थापित गरिएको हो । मुर्तिकाे उचाइ करिब ३६ फिट र चौडाइ १२ फिट रहेको छ ।
झाँक्रिढुङ्गा :
गौमुखी गाउँपालिका–३ रजवारामा अवस्थित एक ऐतिहासिक तथा धार्मिक महत्वको ढुङ्गा हो ।
धार्मिक आस्था : झाँक्रिढुङ्गालाई स्थानीयले देवालय सरह मान्ने गर्छन् । यस ढुङ्गामा शक्तिशाली देवताको वास रहेको विश्वास गरिन्छ । परम्परागत रुपमा झाँक्रिहरू (धामी/झाँक्री) यहाँ आएर पूजा, साधना तथा विधि गर्ने गर्थे, जसका कारण ढुङ्गाको नाम झाँक्रिढुङ्गा रहन गएको हो ।
अहिले यस स्थानलाई धार्मिक पर्यटक स्थलको रुपमा विकास गरिएकाे छ । धार्मिक मेलापर्वमा स्थानीय यस ठाउँमा पूजा–पाठ गर्न आउने गर्छन् ।
पर्यटन पूर्वाधार विकास र प्रचार–प्रसार :
गौमुखीमा हाल केही पर्यटकिय पूर्वाधार विस्तार गरिएको छ । गाउँ-गाउँसम्म सडक बन्न पुगेको छ, र त्यहाँबाट पैदल यात्रा गर्न नाङ्गी बन क्षेत्र मुख्य आकर्षण बनेको छ ।
स्थानीय सरकार र नेपाल पत्रकार महासघ प्युठानकाे सहकार्यमा २०७७ मा मिडिया सम्मेलन आयोजना गरेर गौमुखी क्षेत्रको प्रचार-प्रसार र पर्यटन बिकासका कामहरू अगाडि बढाइएको छ ।
गौमुखी गाउँपालिकाले स्थानीय तहमा रहेका प्राकृतिक तथा धार्मिक सम्पदाकाे प्रचारप्रसार गरि पर्यटन बिकास गर्ने उदेश्यले यस पटक पनि पत्रकार महासङ्घसँग समन्वय गर्ने भएको छ । बिकास, समृद्धि, जनचेतना, परिवर्तनका लागि सन्चारजगतकाे महत्त्वपूर्ण याेग्दान रहने गर्दछ ।
(लेखक नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष हुनुहुन्छ ।)















