> राष्ट्रिय > प्यूठानमा बेसार प्रशोधन उद्योग स्थापना, हलेदो खेतीबाट किसानले आम्दानी गर्न सक्ने


प्यूठानमा बेसार प्रशोधन उद्योग स्थापना, हलेदो खेतीबाट किसानले आम्दानी गर्न सक्ने

प्यूठान । प्यूठान नगरपालिकाले बेसार प्रशोधन उद्योग स्थापना गरेको छ । स्थानीय स्तरमा परम्परागत रुपमा खेती हुँदै आएको हलेदो बालीलाई व्यवसायिकरण र अर्गानिक वेसार उत्पादन गर्ने उद्देश्यले उद्योग संचालनमा ल्याइएको हो ।

 

प्यूठान नगरपालिका वडा नं. ८ गेजवाङमा बेसार प्रशोधन केन्द्र स्थापनाका लागि जापान सरकारले भवन निर्माणसँगै कृषि उपकरणमा सहयोग गरेको हो । जापान सरकारको ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट अन्तर्गतको एक करोड रुपैयाँको लागतमा उद्योग स्थापना गरिएको छ ।

 

स्थानीय स्तरमा आधुनिक बेसार प्रशोधन केन्द्र नहुँदा ढिकी जस्ता घरेलु उपकरणको भर पर्नुपर्दा किसानलाई लागत खर्च बढि हुने गरेको छ । जसले व्यवसायिक उत्पादन भन्दा घर खर्चमा सिमित हुनु परेको थियो । परम्परागत हलेदो खेतीलाई व्यवसायिक बनाउन र अर्गानिक गुणस्तरीय बेसार उत्पादनका लागि उद्योग स्थापना गरिएको प्यूठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माले बताउनुभयो । अत्याधुनिक सेमि अटोमेटिक मेसिन जडान गरिएकोले तुलनात्मक रुपमा कम जनशक्तिमै आधुनिक ढङ्गले विना मिसावट अर्गानिक बेसार उत्पादन हुनेछ ।

 

स्थानीय स्तरमा उच्च प्रविधिको प्रशोधन केन्द्र संचालनमा आएपछि किसानहरु हलेदो उत्पादनमा आकर्षित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्यूठान नगरपालिका–१ मा पकेट क्षेत्र निर्धारण गरी शुरु गरिएको हलेदो खेती १२ लाख रुपैंयाको लगानीमा प्यूठान नगरपालिका–८ मा समेत खेती विस्तार गरिएको छ ।

 

‘प्यूठान नगरपालिका भित्र मात्र नभई जिल्लाभरका किसानहरुले अब व्यवसायिक हलेदो खेतीबाट आम्दानी गर्नेछन् ।’ ,उपप्रमुख बर्माले भन्नुभयो, ‘बाँदर, बँदेल जस्ता जंगली जनवारले हलेदो खेतीमा क्षति नगर्ने भएकाले बाँझो जमिनमा खेति विस्तार हुने अपेक्षा गरेका छौं ।’ उद्योग स्थापना भएपछि नगरपालिका आफ्ैले कर्मचारी भर्ना गरि उद्योगको प्रारम्भिक संचालन शुरु गरेको छ । ‘हलेदो उत्पादनदेखि प्रशोधन हुँदै लेवलिङ्ग र प्याकेजिङ्गसम्म गर्दाको कति लागत लाग्छ र किसानले पाउने मुल्य कति हुन्छ भन्ने विषयमा विश्लेषणात्मक अध्ययन गर्दैछौं ।’ ,उपप्रमुख बर्माले प्यूठान समाचारसँग भन्नुभयो, ‘पब्लिक प्राईभेट पार्टनरसीप (पिपिपि) मोडलमा उद्योग संचालन बारे छलफल भैरहेको छ, छिट्टै टुङ्गो लगाउनेछौं ।’

 

नगरपालिकाले हाल परम्परागत रुपमा किसानहरुले उत्पादन गर्दै आएको हलेदोको परिणाम कति छ र कति मुल्यमा उपलब्ध गराउन सक्ने भनेर किसानहरुसँग माग गरेको छ । ‘एउटा तरिका अनुसार किसानहरुले आफ्नो हलेदो विक्रि गरेर आम्दानी लिन्छन् ।’ ,प्रशोधन केन्द्र निर्देशक समितिका संयोजक समेत रहेका उपप्रमुख बर्माले भन्नुभयो, ‘अर्काे तरिका भनेको किसानले प्रशोधन गरेर बेसार नै लिएर जान सक्छन् ।’

 

प्रशोधनका लागि कति शुल्क लाग्छ भन्ने अझै एकिन नभएपनि उद्योगबाट अर्गानिक उत्पादन हुने नगरपालिकाले जनाएको छ । हलेदोको चाना बनाउने, सोलार ड्रायर मार्फत सुकाउने र पिसेर बेसार उत्पादन हुन्छ । यसरी प्रशोधनका लागि नगरपालिकाले हाल एक जना कर्मचारी नियुक्त गरेको छ । छिट्टै थप एक जना कर्मचारी भर्ना गर्ने नगरपालिकाको योजना छ ।

 

उत्पादित अर्गानिक बेसारलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट प्रमाणिकरण गराई यसको लेवलिङ्ग र प्याकेजिङ्ग गरिनेछ । लोगो डिजाइनको काम भैरहेको र सिल्भर प्याकेजिङ्ग गर्ने निर्णय भैसकेको नगरपालिकाले जनाएको छ ।

 

उद्योग स्थापना भए लगत्तै बेसारको माग आउन थालेको छ । बजारिकरणका लागि नगरपालिकाले भोल नेपालको सहकार्यमा बेसार बजार डट कम वेवसाइट संचालनमा ल्याइएको छ । ‘प्यूठान नगरपालिकासँगै जिल्लाका किसानहरुले उद्योगको लाभ लिन सक्नेछन् ।’ ,उपप्रमुख बर्माले भन्नुभयो, ‘बजारको समस्या छैन, झण्डै ५ हजार केजीको डिमाण्ड आईसकेको छ, देश विदेशबाट वेवसाईट भिजिटरको संख्या बढ्दो छ ।’

 

उद्योग संचालन प्रारम्भिक चरणमा रहेको भन्दै उहाँले जंगली जनवारबाट हैरान भएर बाँझो छोडिएको जमिनमा हलेदो खेति गर्न किसानहरुलाई सुझाव दिनुभयो । हलेदोबाटै प्रति किसानको दैनिक १ डलर आम्दानी बृद्धि गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

 

प्रशोधन केन्द्र संचालनका लागि नगरपालिकाले बेसार उत्पादन, प्रशोधन तथा विक्रि वितरण कार्यक्रम संचालन कार्यविधि, २०८० पारित गरेको छ । कार्यविधि अनुसार नगपालिका प्रमुखको संरक्षकत्वमा उपप्रमुखको संयोजकत्वमा निर्देशक समिति रहनेछ । जसमा ८ नं. वडा अध्यक्ष, नगर प्रमुखद्धारा मनोनित एक जना स्थानीय, भोल नेपालको प्रतिनिधि, कृषि शाखा प्रमुख सदस्य र प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *