प्यूठान । प्यूठान नगरपालिकाले बजार क्षेत्रबाट संकलन गर्ने फोहोर ब्यबस्थापनका लागि प्रशोधन केन्द्र संचालन गरे पनि यो नाममा मात्र सिमित भएकोछ । फोहोरको बैज्ञानिक ब्यबस्थापन नहुँदा बस्तीसम्मै दुर्गन्ध फैलने र फोहोर छरपस्ट हुने गरेको छ ।
प्यूठान नगरपालिकाले २०७५ सालदेखि कार्यालय भवन पछाडि जुम्रि बजारको पुछारमा फोहोर प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको हो । फोहोरको सहि ब्यवस्थापन नहुँदा स्थानीय आजित छन् । यहाँको दुर्गन्धले आसपासका बस्तीमा बस्नै सकस हुन थालेकोछ । रातको समयमा फोहोर जलाउँदा त्यहाबाट निस्कने धुँवा र फोहोरको दुर्गन्धले घरमा कोठा थुनेर बस्नुपर्ने अवस्था रहेको स्थानीय बताउँछन् ।
फोहोर संकलन गर्ने स्थान नजिकै रहेका घरपरिवार फोहोरबाट आजित भएको स्थानीय देबि अधिकारीले बताउनुभयो । झ्याल ढोका थुनेर बस्दा पनि सुख नपाईने उहाँको भनाई छ ।
प्रशोधन केन्द्रको सहि ब्यवस्थापन नहुँदा त्यहाँबाट हावाले प्लाष्टिकजन्य फोहोर उडाएर बस्ती र खेतबारीसम्म छरपस्ट पुर्याउने गरेको छ । कुकुर, चराचुरुङ्गीले पनि कुहिएका फोहोरजन्य बस्तु, जनावरका हड्डी बोकेर बस्तीबस्तीमा डुलाउने गर्छन् ।
प्लाष्टिकजन्य फोहोर उडेर खेतबारीमा छरपस्ट हुँदा खेती उब्जनीमा समेत बाधा पुगेको स्थानीय गोबिन्द बहादुर कुमालले बताउनुभयो ।
फोहोरको बैज्ञानिक ब्यबस्थापनका लागि सम्बन्धित समिति मार्फत छ्लफल अघि बढिसकेकोले तत्काल बैकल्पिक उपाय खोजेर समस्या समाधान गर्ने नगर प्रवक्ता सुमन श्रेष्ठले बताउनुभयो ।
