प्यूठान । मल्लरानी गाउपालिका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप दिने कार्ययोजना तयार गरिएको छ ।
कक्षा ६ देखि १० सम्म अध्यनरत छात्रा र विद्यालय बहिर रहेका उमेर १० देखि १४ वर्ष उमेर समुहका किशोरीहरुलाई खोप दिन लागिएको हो । पालिका र वडा स्तरिय खोप समन्वय समिती, स्वास्थ्यकर्मी, स्वयंसेबिका, शिक्षक, सन्चारकर्मी लगायतलाई खोप सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको स्वास्थ्य शाखा प्रमुख पारस शाहीले जानकारी दिनुभयो ।
यहि माघ २२ गतेदेखि विद्यालयमा र स्वास्थ्य सस्थाबाट खोप दिने र माघ २७ गते सम्पन्न गर्ने कार्ययोजना बनेको उहाले बताउनुभयो । बिद्यालय स्तरका ८९७ छात्रा र समुदाय स्तरका ३६ जनालाई खोप दिने लक्ष्य लिइएको छ ।
ह्युमन प्यापिलोमा भाइरस (एच.पि.भि.) भाइरसका कारण पाठेघरको मुखको क्यान्सर हुने गर्दछ । यसै भाइरका विरुद्ध खोप दिन लागिएको हो । यो भाइरस यौन सम्पर्कका माध्यमबाट सर्ने गर्दछ ।
भबिष्यमा हुने सक्ने क्यान्सरको जोखिम रोक्न राष्ट्र ब्यापी रुपमा खोप दिन लागिएको हो । आगामी वर्षदेखि कक्षा ६ र १० वर्ष उमेर पुग्ने किशोरीहरुलाई नियमित रुपमा खोप दिइनेछ ।
यस अभियानसङ्गै महिलाको पाठेघरको मुखको परिक्षण गरिने प्रमुख शाहीले जानकारी दिनुभयो । ३० देखि ४९ वर्ष उमेर माथिका सबै महिलेले तीन वर्षको अवधिमा भिआइए बिधिबाट क्यान्सरको परिक्षण गर्नुपर्दछ ।
