राष्ट्रिय

प्यूठानका सामुदायिक विद्यालयमा ‘होस्टेल’ र अतिरिक्त कक्षा

प्यूठान । जिल्लाका सामुदायिक विद्यालयहरुले ‘होस्टेल’ र अतिरिक्त कक्षा थालेका छन् । एसईई परीक्षा लक्षित गरि विद्यालयहरुले यस्तो अभ्यास थालेका हुन् ।

 

‘एसईई परीक्षा नतिजा सुधारका लागि विद्यालयहरुले यसवर्ष थप प्रयास थालेका छन् ।’ ,शिक्षा बिकास तथा समन्वय इकाई प्यूठानका प्रमुख दुर्गा खड्काले भन्नुभयो, ‘होस्टेल, अतिरिक्त कक्षा, मासिक परीक्षा र अभिभावकसँग छलफल लगायत अभ्यास गर्ने गरेका छन् ।’ जिल्लामा ९० वटा माध्यमिक विद्यालय एसईई परीक्षामा सहभागी हुनेछन् । अधिकांस विद्यालयहरुले परीक्षा आउनुभन्दा तीन महिना अगावैबाट परीक्षा केन्द्रीत कामहरु थालेको उहाँले बताउनुभयो ।

 

कक्षा १० मा अध्ययनरत २३ जना विद्यार्थीलाई विद्यालयमै राखेर थप कक्षा संचालन शुरु गरिएको महेन्द्र माध्यमिक विद्यालय सरङ्गबेशीका प्रधानाध्यापक कृष्ण विक्रम शाहले बताउनुभयो । ‘होस्टेल संचालनका लागि उपयुक्त कोठाहरु नभएपनि विद्यालयमै संंचालन गरेका छौं ।’ ,उहाँले भन्नुभयो, ‘अतिरिक्त कक्षा र होस्टेल संंचालनमा हुने खर्च अभिभावकबाटै लिने योजना छ ।’ प्रति विद्यार्थी मासिक ६ हजार ५ सय खर्च हुने अनुमान गरिएको उहाँले बताउनुभयो ।

 

कोरोनाकालमा परीक्षामा सहभागी नभई कक्षा चढाइएकोले विद्यार्थीमा पढ्ने बानी हराएको र त्यसको असर अझै देखिने गरेको ऐरावती गाउँपालिकाका शिक्षा शाखा प्रमुख यम प्रसाद पाण्डेले बताउनुभयो । ‘विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराएरै पहलहरु थालिएको छ ।’ ,उहाँले भन्नुभयो, ‘एसईई नतिजा सुधारका लागि वेस राम्रो हुनुपर्छ, तरपनि तीन महिनाको प्रयासले नतिजा सुधारमा सहयोग पुग्ने अपेक्षा गरेका छौं ।’

 

नतिजा सुधारका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने ऐरावती गाउँपालिकाका अध्यक्ष नविलविक्रम शाहले बताउनुभयो । ‘सबै पक्ष जिम्मेवार हुनुपर्ने सार्वजनिक कार्यक्रम मार्फत प्रतिवद्धता जाहेर गरेका छौं ।’ ,उहाँले भन्नुभयो, ‘विद्यार्थीको मिहनेत, अभिभावकको चासो, शिक्षकको लगनशिलता र व्यवस्थापन समितिको चासोले नतिजा सुधार गर्न सकिन्छ ।’ विद्यार्थी, शिक्षक, व्यवस्थापन समिति, अभिभावक र पालिका परिवार जिम्मेवार बन्नुपर्नेमा उहाँको जोड छ ।

 

२०८० सालको माध्यमिक शिक्षा परीक्षामा जिल्लाबाट १२.२७ प्रतिशत मात्र विद्यार्थी उत्र्तिण भएका थिए । जसले प्यूठान जिल्ला ७७ औं स्थानमा परेको थियो । एसईई परीक्षा नतिजामा सुधार ल्याउनका लागि एकीकृत योजना बनाई लागु गरेपछि २०८१ को परीक्षामा ४८.८५ प्रतिशत विद्यार्थी उत्र्तिण भएका थिए ।

Related Articles

Back to top button