प्यूठान । स्वर्गद्धारी सर्पदंश उपचार केन्द्र प्यूठानबाट हालसम्म ४८ जनाले सेवा लिएका छन् । गत असोजदेखि संचालनमा आएको उपचार केन्द्रबाट असार २६ गतेसम्म ४८ जनाले सेवा लिएका हुन् ।
एक जनालाई बुटवल रिफर गरिएको र बाँकी सवै जना यहाँबाटै उपचार लिई घर फर्केको प्रमुख अहेव हेमराज पौडेलले जानकारी दिनुभयो । प्यूठान र रोल्पाका स्थानीयले यस उपचार केन्द्रबाट सेवा लिने गरेका छन् । नेपाली सेनाको सहकार्यमा संचालित केन्द्रमा अहेव, अनमी, दुई जना नेपाली सेनाका प्राविधिक र कार्यालय सहयोगी गरी पाँच जना कर्मचारी रहेका छन् ।
जिल्लाका नौ वटै पालिकाको सक्रियतामा उपचार केन्द्रका संचालनमा आए पनि यसको संचालन तथा व्यवस्थापन सम्वन्धी कार्यविधिलाई पूर्णता पाउन सकेको छैन । प्रस्तावित कार्यविधि अनुसार स्वर्गद्धारी नगरपालिकाका प्रमुखको संयोजकत्वमा जिल्लाका नगर तथा पाउँपालिका प्रमुखहरु, स्वास्थ्य कार्यालय प्रमुख, जिल्ला अस्पतालका विज्ञ डाक्टर, स्वर्गद्धारी नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत सदस्य रहने व्यवस्था छ । समितिको सदस्य सचिवमा स्वर्गद्धारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रहने व्यवस्था छ ।
निर्देशक समितिको बैठक नबस्दा उपचार केन्द्र संचालन एवं व्यवस्थापनमा समस्या परेहको उपचार केन्द्रले जनाएको छ । विरामी पूर्जा, विद्युत महसुल भुक्तानी, कर्मचारीको लागि रासनको व्यवस्थामा समस्या परेको केन्द्रका प्रमुख पौडेलले बताउनुभयो ।
केन्द्रले प्रत्येक विरामीबाट ५ सय रुपैंया सहयोग लिने गरेको छ । उक्त रकम सरसफाई र मसलन्दमा नगदबाटै खर्च हुने गरेकोछ ।