> आर्थिक > वर्षौदेखि पुलको चिन्ता


वर्षौदेखि पुलको चिन्ता

महेश थापा
प्यूठान, २० बैशाख ।
नौबहिनी गाउँपालिकाको खवाङसम्म मोटरबाटो पुगेको छ । गाउँमा मोटरबाटो पुगेपछि स्थानीयले यातायातको सुविधा होला भन्दै दिनहरु कुर्दै बसे । तर गाउँमा पहिल्यै पुगेको बाटोमा यातायात चल्न भने सकेका छैनन् ।

कारण हो लाखाचौरस्थित लुङ खोलामा पक्की पुल नहुनु । खवाङमा हिउँदको समयमा जसोतसो गाडी खोलाबाटै चलेपनि वर्खायाम ठप्प हुन्छ । लाखाचौरमा निर्माणधिन पक्की पुल बनेपछि हिउँदवर्खा एकनासले गाडी चल्ने आशामा बसेका स्थानीय पुल निर्माणको काम रोकिएपछि झनै निराश बनेका छन् ।

स्थानीय यामलाल गिरीले पुलको काम पुरा नहुँदा निराश भएको बताउनुभयो । गाउँसम्मै बाटो पुगेपनि बीच खोलामा पुल नहुँदा सास्ती भोग्दै आएको उहाँको भनाई छ । पहिले नै बाटो गाउँ पुगिसक्यो, उहाँले भन्नुभयो, तर अहिलेसम्म खोलामा पुल बनेको छैन ।
पुल निर्माण ढलान गर्ने चरणमा पुगेपनि अहिले कोरोनाको लकडाउनले गर्दा रोकिएको छ । करिव एक महिना निरन्तर काम भएमा पुल ढलान हुने निर्माण पक्षले जनाएको छ । यस वर्षको पुस महिनासम्म सक्ने गरि सम्झौता भएको अमर कन्ट्रक्सन प्रालि काठमाण्डौका प्रोपाइटर दिपेन्द्र शाहीले बताउनुभयो ।

प्रदेश सभा सदस्य कृष्णध्वज खड्का पुलको स्थलगत अनुगमन गर्दै । तस्विर : महेश थापा

पुल निर्माण ढिला हुनुमा सडक कार्यालयका कर्मचारी भ्रष्टाचार मुद्धामा पक्राउ परेर नयाँ कर्मचारी नआउदा र अहिले कोरोनाले गर्दा भएको शाहीको भनाई छ । बर्दियाबाट मजदुर ल्याउने तयारी गरिरहेको भन्दै प्रशासनसँग समन्वय गरिरहेको उहाँको भनाई छ । यसै वर्ष काम सक्ने योजना रहेको समेत उहाँले बताउनुभयो ।

कृष्णध्वज खड्काले योजनाको अनुगमन गर्दै काम अघि बढाउन समन्वयको काम गरिरहेको बताउनुभयो । पुल निर्माण क्षेत्रमै पुगेर उहाँले निर्माण व्यवसायी, प्रशासनसँग काम अघि बढ्ने वातावरण बनाउन समन्वय गर्नुभएको हो । पुल निर्माणले खवाङ, लिघा र स्याउलिवाङका स्थानीय लाभान्वित हुन्छन् । त्यसको साथै लिवाङ र पुजाँका केहि भागका स्थानीयलाई समेत सहज बनाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *