प्यूठान । भिरबाट लडी मृत्यु भएको भनी गाडेको शवलाई दुई महिना पछि उत्खनन् गरी जिल्ला प्रहरी कार्यालय प्यूठानले पोष्टमार्टमका लागि पठाएको छ । कुटपिटका कारण मृत्यु भएको भनि उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको हो ।
नौबहिनी गाउँपालिका वडा नं. ८ साउनीफेदीका ५० वर्षिय घने पुन मगरलाई प्यूठान नगरपालिका वडा नं. ५ जुम्रिकाँडाकी ४० वर्षिय चन्द्रा घर्तिमगरले कुटपिट गरेकोले मृत्यु भएको उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको हो । श्रीमति चोपीना पुनले प्रहरी समक्ष उजुरी गरेपछि शब उत्खनन् गरी पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
साउनीफेदी निवासी घने गत माग २ गते नौबहिनी गाउँपालिका वडा नं. ७ खाम्रीबासमा मामा नाता पर्ने केसमान घर्तिकोमा माघे सक्रान्ति मनाउन गएका थिए । भोलिपल्ट माघ ३ गते खर्यानमा मृत अवस्थामा फेला परेपछि आफन्तले भिरबाट लडी मृत्यु भएको भनी खाल्डो खनी गाडेका थिए ।
श्रीमतिले फागुन २९ गते प्रहरी कार्यालयमा लौरोले कुटपिट गरेको कारण मृत्यु भएको भनि जाहेरी दिएपछि चन्द्रालाई पक्राउ गरि प्रहरी घटनाको अनुसन्धान थालेको हो ।