प्यूठान । अनधिकृत व्यवसायी प्रति प्यूठान उद्योग बाणिज्य संघ क्रुर बन्दै गएको छ । विगत लामो समयदेखि अनधिकृत व्यवसाय नियन्त्रणका लागि विभिन्न पहल गर्दै आएको संघका पछिल्ला गतिविधिले क्रुर बन्दै गएको संकेत गर्दछ ।
संघले जिल्लाका विभिन्न स्थानहरुमा ‘अनधिकृत झोले कुम्ले व्यवसायी निषेधित क्षेत्र’ लेखिएका होर्डिङ बोर्डहरु राखेको छ । यस्ता व्यवसायीहरु नियन्त्रणका लागि संघले स्थानीय प्रशासन, सुरक्षा निकाय, कर तथा घरेलु कार्यालय, स्थानीय पालिकाहरुसँग छलफल र परामर्श गर्दै आएको संघका अध्यक्ष पशुपति नारायण नकर्मीले बताउनुभयो । ‘यो समस्या जिल्लामा मात्र नभई देशव्यापी समस्या हो ।’ ,उहाँले भन्नुभयो, ‘यसको नियन्त्रणका लागि सबैको सहयोग चाहिन्छ ।’
के हो अनधिकृत ‘झोले कुम्ले’ व्यवसाय ?
सरकारले उद्योग व्यवसाय संचालनका लागि निश्चित मापदण्डहरु तोकेको छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलेहरुले उद्योग व्यवसाय संचालनका लागि छुट्टाछुट्ट नीति नियम बनाएका छन् । उद्योग व्यवासय दर्ता, संचालन तथा नियमन सम्वन्धी ती ऐनहरु विपरित संचालन हुने सबै प्रकारका व्यवसायहरु अनधिकृत हुन् । उद्योग व्यवसाय निश्चित तोकीएको स्थानबाट संचालन गर्नुपर्ने न्यूनतम नियमको समेत पालना नगरि सामग्रीहरु बोकेर घरघरमा डुलाई गरिने व्यवसाय अनधिकृत हुने संघको ठहर छ ।
निश्चित मुल्य समेत नराखि सामग्रीको न्यूनतम गुणस्तरीयतामा समेत ख्याल नगरि यस्ता व्यवसाय वर्षाैदेखि चल्दै आएकोले यसलाई रोक्न निर्मम हुनुपर्ने बाध्यता भएको अध्यक्ष नकर्मीको भनाई छ । ‘धेरै स्थानीय सरकारहरुले गाउँ तथा नगर सभा मार्फत यस्ता व्यवसायी निरुत्साहितका लागि नीतिगत निर्णय गरेका छन् ।’ ,उहाँले भन्नुभयो ‘यसैको कार्यान्वयनमा हामीले जोड दिएका मात्र हौं ।’ मापदण्ड पालना गरि व्यवसाय गरेका व्यवसायीहरुलाई यसले मर्कामा पारेकोले सरकारी निकायको सहयोगी बनेका हौं । यस्ता व्यवसायीबाट उपभोक्ताहरु समेत ठगिने गरेको गुनासो रहेको उहाँको अनुभव छ ।
के स्थानीय उत्पादनको बजारीकरणमा यसले रोक्छ त ?
स्थानीय उत्पादनहरु घरघर पु¥याएर गरिने व्यवसायलाई भने यसले नरोक्ने अध्यक्ष नकर्मीको भनाई छ । ‘कतिपय व्यवसायहरु घरघर पु¥याएर दिने सेवाहरु हुन्छन् ।’ उहाँले भन्नुभयो, ‘सरकारले करको दायरामा ल्याएका वस्तुहरुको विक्रि भने यसरी गर्न मिल्दैन ।’ स्थानीय हस्तकलाका सामग्री, स्थानीय घरेलु तथा साना उद्योगबाट उत्पादित बस्तु, कृषिजन्य सामग्रीहरु, पत्रपत्रिका जस्ता सेवाहरु घुम्ति व्यवसाय मार्फत हुने उहाँले स्पष्ट पार्नुभयो ।
के हो घुम्ति/रिटेलिङ व्यवसाय ?
पिकअप, ट्रकमा मालसामान बोकेर व्यवसाय संचालन गरिरहेको हामीले देखेका हुन्छन् । यो घुम्ति/रिटेलिङ व्यवसाय हो । सवारी साधनमा मात्र होइन पोका बोकेर पनि व्यवसाय गर्न सकिन्छ तर त्यसको निश्चित मापदण्ड र वस्तुमा फरक पर्ने संघको बुझाई छ । स्थानीय सरकारहरुले समेत निश्चित राजस्व लिएर यस्ता व्यवसायलाई स्विकृत दिन सक्छन् । खाद्यान्न तथा किराना, मदिरा, दैनिक उपभोग्य बस्तु, कृषि उत्पादनका सामग्री देखि मेसिनको प्रयोग गरि वा विना मेसिनबाट सिरक डसना बनाउने काम समेत घुम्ति व्यवसायी अन्तरगत पर्दछन् । यस्ता व्यवसायीहरुले सम्वन्धीत पालिकामा राजस्व तिरि पूर्व स्विकृत लिई सेवा दिन सक्छन् । यस्तो व्यवसाय संचालन गर्दा सामाग्री खरिद विक्रिको लागि आवश्यक कानूनी प्रक्रिया भने पुरा गरेको हुनुपर्दछ । निश्चित उत्पादक कम्पनीहरुले र कम्पनीका प्रतिनिधि व्यवसायहरुले यस्तो सेवा दिन सक्ने संघको बुझाई छ ।
सामग्री कहाँबाट खरिद भएको हो र त्यसको गणस्तरीता के हो भन्ने निश्चित नभएका सामग्रीहरुको व्यापारले निश्चित मापदण्ड पुरा गरेका व्यवसायीहरुलाई धारासायी नै बनाउन थालेपछि संघका गतिविधिलाई प्रभावकारी बनाउन लागिएको संघका अध्यष नकर्मीले बताउनुभयो । यसका लागि जिल्ला स्थित सरोकारवालहरुसँग प्रभावकारी सहकार्य गरिने उहाँको भनाई छ ।
यस्ता अनधिकृत व्यवसायहरु निरुत्साहित गर्नु स्थानीय तहहरुको प्रमुख जिम्मेवारी रहने प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु योगीले बताउनुभयो । आफु अन्य जिल्लाहरुको भ्रमणमा जाँदा समेत यस्ता होर्डिङ बोर्डहरु पालिकाले नै राखेको देखेको उहाँले अनुभव सुनाउनुभयो । सरकारले निर्माण गर्ने नीति नियम र ऐन कानूनको सवैले पालना गर्नु सबैको दायित्व समेत रहेको उहाँको भनाई थियो ।
आर्थिक कारोवारमा प्यान अनिवार्य
कुनै पनि प्रकारको आर्थिक कारोवार गर्दा प्यान दर्ता अनिवार्य हुने करदाता सेवा कार्यालय चकचकेका प्रमुख उपेन्द्र पुनले बताउनुभयो । ‘दर्ता नगरि गरिने सबै प्रकारका व्यापार गैर कानुनी ठहर्छ’ ,उहाँले भन्नुभयो, ‘एक ठाँऊबाट अर्काे ठाँऊ सामग्री लैजादाँ विजक जारी गर्नुपर्ने अनिवार्य हुन्छ ।’ कानूनी दायरामा आउनु सबैको दायित्व भएको उहाँले उल्लेख गर्नुभयो ।
के हो अनलाईन व्यवसाय ?
इन्टरनेटको प्रयोग गरेर अर्थात् इन्टरनेटको माध्यमबाट गरिने व्यवसायहरूलाई अनलाइन व्यवसाय भनिन्छ । यसमा इन्टरनेटको माध्यमबाट ग्राहकहरूसम्म सेवा तथा उत्पादनको बारेमा जानकारी गराउने वस्तुहरूको खरिद, बिक्री गर्ने आदि क्रियाकलापहरू गरिन्छ । अनलाइनबाट वस्तु वा सेवाको अर्डर गर्न, खरिद तथा बिक्री गर्न सकिन्छ । यसको कानूनी व्यवस्थापन भने अवश्यक छ । जसका लागि विद्युतीय व्यापार विधेयक, २०८० तयार भएको छ । प्रमाणीकरण हुन भने बाँकी छ ।
‘झोले कुम्ले’ शब्द सच्चाउने की ?
झोले, कुम्ले शब्दलाई अलि मर्यादित बनाउनु पर्ने प्यूठान नगरपालिकका उपप्रमुख देवेन्द्र बर्मा बताउनुहुन्छ । ‘विषयवस्तुको गाम्भिर्यता अत्यन्तै महत्वपूर्ण छ ।’ ,उहाँले भन्नुभयो, ‘शब्दलाई अलि मर्यांदित बनाउदा अझ राम्रो हुन्छ ।’ स्पष्ट रुपमा स्थानीय उत्पादनका सन्दर्भमा यो अभियान होइन भन्ने बुझाउन सक्नुपर्ने उहाँको भनाई थियो । वर्षाैदेखि देशभरि नै यस्ता शब्दको प्रयोग हँुदै आएको संघका अध्यक्ष नकर्मीले उल्लेख गर्नुभयो ।
