प्यूठान । पछिल्लो समय आन्तरिक पर्यटकहरु रोजाईको गन्तव्यका रुपमा विकास भैरहेको मल्लरानी पर्यटकीय क्षेत्रमा भगवती देवीको मन्दिर निर्माण गरिएकोछ । शनिवार मन्दिरमा भगवती देवीको प्राण प्रतिष्ठा कार्यक्रम गरि उद्घाटन गरिएको छ ।
मल्लरानी गाउँपालिका वडा नं. ४ निवासी बासु श्रेष्ठको परिवारले मन्दिर निर्माण गरेको हो । आमा रुकमणी श्रेष्ठको चौरासी पुजाको अवसर पारेर मन्दिरको उद्घाटन गरिएको हो ।
पछिल्लो समय मल्लरानीमा पर्यटकीय पुर्वाधारहरु निर्माणको काम धमाधम चलिरहेको छ । गाउँपालिका मार्फत र नीजि व्यक्तिगत लगानीहरुमा अन्य पूर्वाधार निर्माणका कामहरु भएका छन् ।
यहाँ रहेको प्राचिन महत्वको शिव मन्दिर वर्दबहादुर गण खलंगाले पुर्नः निर्माणको काम समेत गरिरहेकोछ ।
सदरमुकाम खलंगाबाट पाँच किलोमिटर सडक दुरीमा मल्लरानी अवस्थित छ । यहाँसम्म पुग्ने सडक कालोपत्रे भएसँगै मल्लरानी आन्तरिक पर्यटकहरुको पहिलो रोजाई बन्न थालेको हो ।
सहासिक खेल जिप लाईन सञ्चालनमा आएसँगै यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ । स्थानीयको सामुहिक नीजि लगानीमा जिप लाईन निर्माण भएको हो ।
