> आर्थिक/बिकास > मौरी चरनको सिजन शुरु


मौरी चरनको सिजन शुरु

प्युठान । पर्याप्त चरन क्षेत्र भएको प्युठानमा यसवर्ष मौरी चरनको सिजन शुरु भएको छ । व्यावसायिक रुपमा मेलिफेरा जातको मौरी पालन गर्दै आएका जिल्ला बाहिरका व्यवसायीले जिल्लाका विभिन्न क्षेत्रमा चरनका लागि मौरी ल्याउन शुरु गरिसकेका छन् । सर्लाही, बारा, चितवन लगायत क्षेत्रबाट व्यवसायीले चरनका लागी मौरी ल्याउने गरेका हुन ।

 

जिल्लाको ऐरावती गाउँपालिका, सरुमारानी गाउँपालिका, प्यूठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका लगायतका स्थानीय तह मौरी पालनका लागि उपयुक्त रहेका छन् । प्राय: प्रत्येक स्थानीयको घरमा परम्परागत मुढे घार छन् । त्यस बाहेकका अरु ठाउँमा पनि मौरी पालन गर्ने गरिएको छ ।

 

 

मौरी पालनका लागि प्रशस्त चरन क्षेत्र र स्रोत भएको ऐरावती गाउँपालिका वडा नम्वर–३ जाबुनेमा खिमा पुनले मौरी पालनलाई व्यवसायिक रुपमा अघि बढाउनुभएको छ । परम्परागत रुपमा मुढे घारमा मौरी पाल्दै आउनुभएका पुनले केहि वर्षअघि देखी आधुनिक घारमा मौरी पालन गर्न थाल्नुभएको हो ।

 

जाबुनेमा एक सय वटा आधुनिक घार सेरेना जातको मौरी पालिएको उहाँले बताउनुभयो । अहिले मौरीका लागि आवश्यक पर्ने रसहरु प्रशस्त पाईन्छ । चिउरी लगायत फुुल फुल्ने रुखविरुवा र जंगल नजिकै भएकाले जावुनेमा मौरी पालनको राम्रो सम्भावना रहेको पुनले बताउनुभयो ।

 

प्यूठान नगरपालिका–७ टिकुरीका मधुसुदन भण्डारीले व्यवसायिक मौरी पालन थालेको पाँच वर्ष भयो । “व्यावसायिक रुपमा मौरी पाल्न सुरु गरेको ६ वर्ष भयो,” भण्डारीले भन्नुभयो, “गत वर्ष अरिङ्गालले मौरी सवै सखाप पार्‍यो, यो वर्ष उत्पादन राम्रो हुन्छ कि भन्ने आशा छ ।” भण्डारीसँग अहिले ६० घार मौरी छन् ।

 

जिल्लाभर ११ हजार ७९६ घार रहेको छ । यो वर्ष १५८ मेट्रिकटन उत्पादन हुने अनुमान गरिएको एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालय प्युठानका निमित्त प्रमुख उमेशचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *