> स्थानीय सरकार > व्यावसायिक शिक्षाले सफल बन्दै कृषक


व्यावसायिक शिक्षाले सफल बन्दै कृषक

प्यूठान, १४ साउन । स्वर्गद्धारी नगरपालिका-९ भचेनीमा दुई वर्षअघि भचेनी सुनौलो कृषक समुह गठन भयो ।

नियमित रुपमा खेतीबाली गर्दै आएका यहाँका १६ जना कृषक समुहमा आवद्ध भए । समुहमा आवद्ध भएदेखी हालसम्म उनीहरुले कृषि खेतीलाई साँच्चिकै व्यावसायिक बनाउनका लागि निरन्तर मिहेनत गरिरहेका छन् ।

 


‘समुहमा बसेदेखि अहिलेसम्म कृषि सम्वन्धी धेरै कुरा सिकेका छौं,’ समुहका सदस्य केशरा पौडेलले भन्नुभयो,‘तरकारीको नर्सरी राख्नेदेखि उत्पादन हुनेबेलासम्म ध्यान दिएर खेती गर्र्न सिक्यौँ ।’ त्यसका लागि कृषि तथा जीविकोपार्जन प्रर्बद्धन परियोजना(गोल) ले सहयोग गरेको छ । त्यतिमात्र नभएर कृषि उद्यमीका लागि सञ्चालन भएको व्यावसायिक शिक्षाले आफूहरुलाई निर्वाहमुखीबाट व्यावसायिक बनाउन सहयोग गरेको पौडेल बताउनुहुन्छ ।

 

भचेनीमा कृषि समुह गठन भएसँगै अहिले टनेलमा खेती गर्ने किसान समेत बढ्न थालेका छन् । कृषि समुहमा आवद्ध मात्र नभएर अरु किसान समेत टनेल खेतीतर्फ आर्कषित भएको स्थानीय झरना जिएमले बताउनुभयो । ‘हामीले पहिलो पटक टनेलमा खेती गर्ने अभ्यास थालेका छौं,’ उहाँले भन्नुभयो,‘हाम्रो टनेल खेती देखेर गाउँका अरु कृषकले पनि बनाउनुभएको छ ।

स्वर्गद्वारी नगरपालिका-८ घुस्टुङका मिनराज पुनलाई पनि गोल परियोजनाले सफल कृषक बनाउन सहयोग गरेको छ । बैदेशिक रोजगारीबाट फर्कनुभएका पुन अहिले आफ्नै गाउँमा व्यावसायिक तरकारी खेतीमा जोडिनुभएको छ ।

 

‘तरकारी खेतीबाट राम्रो आम्दानी हुँदै आएको छ,’पुनले भन्नुभयो,‘भिंगृ बजारमा तरकारीको विक्री हुँदै आएको छ ।’ आगामी दिनमा तरकारी खेती विस्तार गर्ने योजनालाई गोल परियोजनाले समेत सहयोग गरेको उहाँ बताउनुहुन्छ । ‘परियोजनाले गरेको सहयोगबाट व्यवसायलाई थप विस्तार गर्न ऊर्जा मिलेको छ,’उहाँले भन्नुभयो ।

स्वर्गद्धारी नगरपालिका-९ दिवाङका नमा जिएमले परियोजनाले आफूले गर्दै आएको व्यावसायिक कृषि खेतीको बजारीकरणका लागि सहयोग गरेको अनुभव सुनाउनुहुन्छ । ‘हामीले उत्पादन गरेका तरकारी विक्रीका लागि बजारको व्यवस्था भएको छ,’ उहाँले भन्नुभयो,‘परियोजनासँगको सहकार्यले नगरपालिकाबाट पाउने सेवा सुविधाबारे समेत जानकारी मिल्ने गरेको छ ।’

 

 

स्वर्गद्वारी नगरपालिकाका सवै वडामा परियोजना लागु छ । नगरपालिकासँगको साझेदारीमा परियोजना सञ्चालन गरि कार्यक्रम कार्यान्वयन गर्दै आएको कार्यक्रम संयोजक मोहन सुवेदीले बताउनुभयो । पालिकाभर ६० वटा कृषक समुह गठन भएको उहाँले जानकारी दिनुभयो ।

 


परियोजनाले सामान्य वीऊ विषादी वितरणदेखी विभिन्न कृषि औजारसम्मको सहयोग गरेको छ । सिंचाईका लागि कुलो निर्माण, टनेल, प्राविधिक सहयोग समेत उपलब्ध गराउँदै आएको छ । परियोजनाले जलवायु परिवर्तन, आर्थिक विकास, खाद्य सुरक्षा, लैंगिक समानता, जीविकोपार्जन, ग्रामीण विकास, कृषि तथा पशुपालन प्रर्वद्धनको क्षेत्रमा काम गर्दै आएको सुवेदीको भनाई छ ।

 

अष्ट्रेलियन एड, आड्रा, रुपान्तरण र फुलबारी एकीकृत ग्रामीण विकास संस्थाको साझेदारीमा सञ्चालित परियोजनाले नगरपालिकासँग साझेदारी गरेको छ । २०७६ देखी शुरु भएको परियोजना २०८१ सम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *