> राजनीति > कोशी प्रदेशको घटनाले गठबन्धनलाई असर गर्दैन : सह- महामन्त्री परियार


कोशी प्रदेशको घटनाले गठबन्धनलाई असर गर्दैन : सह- महामन्त्री परियार

प्युठान । नेपाली काङ्ग्रेसका सह- महामन्त्री जीवन परियारले पछिल्लो समय कोशी प्रदेशमा देखिएको घटनाले गठबन्धन सरकारमा असर नपुग्ने बताउनुभएको छ ।नेपाल प्रेस युनियन जिल्ला शाखा प्युठानले बाग्दुलामा गरेको पत्रकार भेटघाटमा
सह-महामन्त्री परियारले गठबन्धन सरकार र काङ्ग्रेसबीचमा कुनै समस्या नआउने दाबी गर्नुभयो ।

 

प्रतिनिधि सभा सदस्य समेत रहेका नेता परियारले अहिलेको सरकार संविधानको रक्षा गर्न ऐन कानुन निर्माणमा जोड दिएको बताउनुभयो ।’मौलिक हक कार्यान्वयन गर्न ३ वर्ष भित्र सबै ऐन कानुन बनाउछौ भनेर संविधानमा लेखिएको छ,’ उहाँले भन्नुभयो,’यसअघि बनेका सरकारले कानुन निर्माण गर्न ध्यान दिएन ।’ अहिलेको सरकार सबै ऐन कानुन बनाउन लागिपरेको उहाँको भनाई छ ।

 

सह-महामन्त्री परियारले महङ्गी नियन्त्रणमा सरकार चुकेको बताउनुभयो । महङ्गी नियन्त्रणका लागि पार्टीले सरकारलाई पटक पटक सुझाव दिएको उहाँले बताउनुभयो । भ्रष्टाचार मुद्दामा सरकारले निष्पक्ष अनुसन्धान हुनुपर्ने उहाँको भनाई छ ।

 

कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य गोबिन्दराज पोख्रेलले कोशी प्रदेशले राजनीतिक दलहरूबीच सहकार्यको सन्देश दिने बताउनुभयो । लोकतान्त्रिक मुल्य र मान्यता अनुसार नै गठबन्धन भित्र सरकारको नेतृत्व गर्नुपर्ने धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *