> समाज > प्युठानमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आयो


प्युठानमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आयो

प्यूठान । जिल्लामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ । तीन वर्ष पहिले सर्वपक्षीय छलफलबाट जिल्लामा सर्पदंश उपचार केन्द्र खोल्ने निणर्य भएपनि लामो समयपछि  उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो ।

सर्पदंश उपचार केन्द्र सञ्चालन भएपछि प्युठान जिल्ला सहित रोल्पा, गुल्मी र अर्घाखाँचीका स्थानीयले समेत लाभ लिन पाउने भएका छन् । जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसीले जिल्लाका सवै स्थानीय तहको सहयोगमा उपचार केन्द्र सञ्चालनमा ल्याउन सफल भएको बताउनुभयो । उपचार केन्द्रका लागि नेपाली सेनाले समेत सघाएको उहाँले बताउनुभयो ।

केन्द्र सञ्चालनका लागि भन्दै प्युठान-रोल्पा सडक खण्डको स्वर्गद्वारी नगरपालिका वडा नम्वर ९ स्थित लामाचौरका स्थानीयले पाँच आना जग्गा निःशुल्क स्वर्गद्धारी नगरपालिकालाई हस्तान्तरण गरेका थिए । उक्त जग्गामा नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा भवन निर्माण गरेको थियो ।

जलबायु परिवर्तन तथा विभिन्न कारणले तराईका विषालु सर्पहरु पहाड तर्फ आउने गरेका छन् । यसअघि उपचार सेवा नहुँदा सर्पदंशको उपचारको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो भने कतिपयले ज्यान समेत गुमाएका छन् ।

सर्पदंश उपचार केन्द्रमा दुई जना तालिमप्राप्त स्वास्थ्यकर्मी रहेका छन् । एक जना अहेव र एक जना अनमीको व्यवस्थापन गरिएको स्वर्गद्घारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दल बहादुर केसीले जानकारी दिनुभयो । त्यसको अलवा २ जना नेपाली सेना खटिएका छन् ।

सर्पले टोक्दा स्थानीय अहिले पनि उपचारका लागि भन्दा धाँमीझाँक्रिकोमा जाने प्रचलन छ । जिल्लामै केन्द्र स्थापना भएकाले सर्पदंशको उपचारका लागि जिल्ला बाहिर जाने बाध्यता हट्नेछ । सर्पको टोकाईबाट उपचार नपाएर ज्यान जाने जोखिम कम हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *