समाज

जनमत एमालेको पक्षमा छ भन्ने पुष्टी गर्न जनता माझ आएका छौं : सूर्य थापा

प्यूठान । प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्य थापाले जनमत एमालेको पक्षमा छ भन्ने सन्देश पुष्टी गर्न जनता माझ आएको बताउनुभएको छ । शनिवार सरुमारानी गाउँपालिकाको वडा नं. ४ बड्डाँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले असंवैधानिक रुपमा संसद विघटन गरे पनि जनमत एमालेको पक्षमा छ भन्ने पुनः स्थापित गर्न जनता माझ आएको बताउनुभयो ।

 

‘अढाई वर्ष पदावधि बाँकी रहेकै समयमा असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन भयो ।’ ,उहाँले भन्नुभयो, ‘जनमत एमालेको पक्षमा छ भन्ने पुनः स्थापित गर्ने संकल्प र प्रतिवद्धताका साथ अघि बढेका छौं ।’ बड्डाँडामा भएको अगुवा युवा भेला तथा वडा स्तरीय जनभेटघाट कार्यक्रमले जिल्ला व्यापी सन्देश प्रवाह गरेको उहाँको भनाई थियो ।

 

एमाले प्यूठानले सुरु गरेको दोश्रो चरणको चुनावी अभियान सरुमारानी गाउँपालिकाबाट शुरु गर्दै एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार थापाले सरुमारानीलाई एमालेको किल्लाको रुपमा स्थापित गर्दै विगतको मतान्तरलाई अझ बढाउन मतदातासँग उहाँले आव्हान समेत गर्नुभयो । वडा नं. ४ का मतदाताको माया र विश्वासलाई शिरोपर गर्दै यहाँको माग र चाहना बमोजिम काम गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

यस क्षेत्रको पूर्वाधार विकास, मोटरबाटो, कुडुले पक्की पुल, सडक सञ्जाल, बड्डाँडा बुढीचौर उपल्लो बाटो, बड्डाँडा सौराकोट पाङकोट, सरुमारनी लेक, किमिचौर दह पर्यटन पूर्वाधार विकास, राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नौमुरे जलविद्युत आयोजना र यहाँको कृषि उत्पादनको बजारीकरणका योजना बनाएको उहाँले उल्लेख गर्नुभयो ।

Related Articles

Back to top button